गुल्मीमा गरिब घर परिवार पहिचान गरिने

÷ गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरण लागि गुल्मीमा सुपरिवेक्षक तथा गणकहरुका लागि सञ्चालन गरिएको तालिमको शनिबार समापन गरिएको छ । भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको कार्यक्रम अन्र्तगत जिल्ला समन्वय समितिको आयोजनामा सदरमुकाम तम्घासमा सञ्चालन गरिएको तालिमको समापन गरिएको हो ।

तालिममा जिल्लाका ११ वटा स्थानीयतहले छनौट गरि पठाएका सुपरिवेक्षक तथा गणक गरि ६४ जना सहभागी थिए । सुपरिवेक्षक तथा गणकहरुलाई सदरमुकाम तम्घासका विभिन्न चार वटा स्थानबाट तालिम सञ्चालन गरिएको थियो । मदाने गाउँपालिकाले भने सुपरिवेक्षक तथा गणक छनौट गर्न बाँकी रहेको छ ।

तालिममा रेसुङ्गा नगरपालिका तथा सत्यवती गाउँपालिकाका सुपरिवेक्षक तथा गणकहरु गरि १४ जना, इस्मा गाउँपालिका, चन्द्रकोट गाउँपालिका र गुल्मीदरबार गाउँपालिकाका सुपरिवेक्षक तथा गणक गरि १६ जना, मुसिकोट नगरपालिका, मालिका गाउँपालिका र रुरुक्षेत्र गाउँपालिकाका सुपरिवेक्षक तथा गणक गरि १७ जना, यस्तै धुर्कोट गाउँपालिका, छत्रकोट गाउँपालिका र कालीगण्डकी गाउँपालिकाका सुपरिवेक्षक र गणक गरि १७ जना सहभागी भएका कार्यक्रम संयोजक सञ्जबनी अर्यालले जानकारी दिनुभयो ।

गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरण लागि स्थानीयतहले छनौट गरि पठाएका सुपरिवेक्षक तथा गणकहरुलाई यहि माघ ५ गते देखि सञ्चालन गरिएको तालिमको शनिबार आज समापन गरिएको हो । गणकहरुले सफ्टोयरमार्फत हरेक परिवारको विभिन्न विवरण संकलन गर्नेछन् । प्रत्येक परिवारको घरमुलीलाई परिवारको सदस्य, आम्दानी, बचत, आम्दानीको स्रोत, रोजगारी लगायतको बिषयमा प्रश्न गरि तथ्याङ्क लिइनेछ ।

यसरी सफ्टोयर मार्फत संकलन गरिएको तथ्याङ्कलाई भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको तथ्याङ विभागमा पठाइन्छ । विभागले तथ्याङ्कको आधारमा गरिब परिवारहरुलाई गरिब, मध्यम गरिब र अति गरिब पहिचान गरि उक्त तथ्याङ्क पालिकामा पठाउछ । पालिकाले अति गरिब परिवारलाई रातो कार्ड, मध्यम गरिब परिवारलाई पहेँलो तथा गरिब परिवारलाई हरियो कार्ड प्रदान गर्छ ।

वास्तविक गरिब घर परिवार पहिचानका लागि यो कार्यक्रमको शुभारम्भ गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो । शनिबार जिल्ला समन्वय समितिको सभाहलमा भएको तालिमको समापनका अवसरमा प्रजिअ शर्माले सहभागीहरुलाई सहि तथ्याङ्क र विवरण संकलन गर्न आग्रह गर्नुभयो ।

जिल्ला समन्वय समिति गुल्मीका उपप्रमुख तुल्सी कुमारी श्रेष्ठको अध्यक्षता रहेको समापन कार्यक्रममा प्रजिअ शर्माको प्रमुख आतिथ्यता रहेको थियो । त्यस अवसरमा जिल्ला समन्वय अधिकारी विजय कुमार कार्कीले सहभागीहरुलाई निर्देशन सहित कार्यक्रमका बिषयमा जानकारी गराउनुभएको थियो ।

प्रशिक्षक भेषराज पन्थ तथा सहभागीकोतर्फबाट मुसिकोट नगरपालिकाका गणक जवि ढकाल र सत्यवती गाउँपालिकाका गणक अनन्त पाण्डेले मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक सञ्जीबनी अर्यालले गर्नुभएको थियो ।