प्रधानमन्त्रीको अभिव्यक्तिमा कांग्रेसको आपत्ति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला केही दिनयता दिएका सार्वजनिक अभिव्यक्तिप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ।
कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले आज एक विज्ञप्ति प्रकाशित गर्दै प्रधानमन्त्रीका पछिल्ला कयौं अभिव्यक्तिले प्रधानमन्त्री पदको गरिमालाई धुलिसात् बनाएको आरोप लगाएका छन् ।
संसद् विघटनको विरोध गर्नेहरु देशविरोधी हुन् भनेर प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्ति अत्यन्त आपत्तिजनक रहेको विज्ञप्तिमा जनाइएको छ ।
फरक मत राख्न, आफ्नो विचार र विरोध प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको प्रयोग गर्नु जोसुकैके नैसर्गिक अधिकार भन्दै प्रवक्ता शर्माले प्रधानमन्त्रीको अभिव्यक्तिले अधिनायक आकांक्षालाई उजागर गरेको आरोप लगाएका छन् ।
सर्वोच्च अदालतमा भइरहेको बहसलाई ‘तमासा’ को संज्ञा दिनु अदालतको स्वतन्त्र विवेकलाई कुण्ठित गर्ने प्रयत्न भएको भन्दै शर्माले सम्मानित र पाका अधिवक्ताको अपमान सम्पूर्ण ज्येष्ठ नागरिक अनि सभ्य समाजकै अपमान भएको टिप्पणी गरेका छन् ।
समाजको कुनै पनि वर्ग, पेशा, समुदायलाई लाञ्छित र अपमानित गर्ने ढंगले अभिव्यक्ति नदिन प्रधानमन्त्री ओलीलाई कांग्रेसले चेतावनी समेत दिएको छ।