दुई/चार जना भाग्दैमा कम्युनिष्ट आन्दोलन कमजोर हुँदैन : ओली
दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा चुनाव भएरै छाड्ने दावी गर्दै नेता, कार्यकर्तालाई प्रचार प्रसारमा लाग्न आग्रह निर्देशन दिएका छन् ।
नेकपा ओली समूहले दाङमा आयोजना गरेको आमसभालाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले संसदलाई जनताको साँचो प्रतिनिधिको थलो बनाउन मतदान गर्दा ध्यान दिन जनतालाई आग्रह पनि गरेका छन् ।
प्रधानमन्त्री ओलीले प्रहरी प्रशासन र प्रशासनलाई पनि स्वतन्त्र, निष्पक्ष र धांधलीरहित चुनावको तयारी गर्न निर्देशन पनि दिएका छन् ।
प्रधानमन्त्री ओलीले केही मानिसहरु चौतारीमा बसेर म अध्यक्ष भएँ भनेर घोषणा गर्दै हिँडेको तर निर्वाचन आयोगले खत्तम पारिदिएको वताउँदै प्रचण्ड–माधव समूहले आफूलाई साधारण सदस्यबाट निस्कासन गरेको भन्ने सुन्दा आफूलाई हाँसो उठेको पनि बताए ।
पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई सिङ फुक्लेको तिल्के गोरुको संज्ञा दिँदै प्रधानमन्त्री ओलीले अशान्ति मच्याउने यो समूहसँग क्षमता नभएको बताए ।
जनता सचेत भइसकेकाले धाकधक्कु नलगाउन, तिघ्रा नठटाउन र खुट्टा भ्याटभ्याट नगर्न चेतावनी दिँदै प्रधानमन्त्री ओलीले त्यस्तो कार्यले कसैले नटेर्ने बताए ।
दुई÷चार जनाले पार्टी छोड्दैमा कम्युनिस्ट आन्दोलन कमजोर नहुने वताउँदै नेकपा अध्यक्ष समेत रहेका ओलीले वैठक छोडेर हिडेकाहरुलाई कुनै कारवाही नगरिएको वताउँदै गल्ती सच्याएर फर्किए स्वागत गर्ने बताए ।
पार्टी फुटाउन लागेका केही व्यक्तिहरुले निर्वाचन आयोग पुगेर निर्वाचन नगर भनेको वताउँदै प्रधानमन्त्री ओलीले चुनाव नगर भन्ने कसरी लोकतन्त्रवादी हुन्छन् ? भन्ने प्रश्न गरेका छन् ।
उनले अदालतलाई पनि धम्की नदिन चेतावनी दिएका छन् । अदालतले निष्पक्ष फैसला गर्ने र त्यो निर्णयले प्रतिनिधिसभा विघटनको पक्षमा हुने पनि ठोकुवा गरे ।
आफू हारेर पनि प्रधानमन्त्री, अध्यक्ष हुने चाहना राख्ने मान्छे नभएको बताउँदै प्रधानमन्त्री ओलीले स्थायित्व विथोल्ने, देशको विकासमा अवरोध गर्ने र जनताको चाहनालाई ठेस पुर्याउनेहरुलाई आगामी वैशाखमा हुने निर्वाचनमा जनताले छानीछानी दण्डित गर्ने बताए ।