तल्लो अरुण पनि भारतीय कम्पनीलाई जिम्मा

काठमाडौं । सरकारले आकर्षक मानिएको तल्लो अरुण जलविद्युत आयोजना भारतीय कम्पनीलाई दिने निर्णय गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको लगानी बोर्डको ४६ औं बैठकले ६ सय ७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना सतलज विद्युत निगम (एसजेभीएन) लाई दिने निर्णय गरेको हो । यो कम्पनीमा भारत केन्द्र सरकार र भारतको हिमाञ्चल प्रदेश सरकारको संयुक्त लगानी रहेको बताइन्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्ड बैठकले सार्वजनिक निजी साझेदारी मोडल अन्र्तरगत पीपीई मोडलमा निर्माण गर्नको सतलज कम्पनीलाई छनोट गरेको बताइएको छ । यो परियोजना हात पार्न भारतले लामो समयदेखी प्रयास गरिरहेको थियो । अरुण तेस्रो आयोजना गरिरहेको भारतले तल्लो अरुण पनि आफूले पाउनुपर्ने भन्दै प्रधानमन्त्री कार्यालय, ऊर्जा मन्त्रालयदेखि लगानीबोर्डसम्म लबिङ गरेको थियो ।
ऊर्जासम्बद्ध पछिल्ला बैठकमा भारतले नेपालसँग तल्लो अरुणको विषय उठाइरहेको थियो । हाल भारतीय कम्पनी सतलज विद्युत् निगमले अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
कुल नौ सय मेगावाट क्षमताको सो आयोजनामा ५० प्रतिशत काम नसिकँदै अर्को आयोजना पनि सोही कम्पनीले पाएको हो । यो आयोजना तल्लो अरूणकै क्यासकेड प्रोजेक्टका रूपमा बन्ने भएको छ । सतलज विद्युत निगमले अरुण तेस्रो जलविद्युत आयोजना निर्माणका लागि ‘एसजेभीएन नेपाल’ नामक कम्पनी दर्ता गरेर काम गर्दैछ ।
२०७६ भदौमा नेपाल भ्रमणमा आएका भारतीय ऊर्जा राज्यमन्त्री राजकुमार सिंहले भारतले अरुण तेस्रोको ढाँचामा नै तल्लो अरुण निर्माण गर्ने चाहना व्यक्त गरेका थिए । तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग भएको भेटमा उनले अरुण तेस्रोको निर्माण भारतले नै गरिरहेकाले तल्लो अरुण पनि भारतले पाए सहज रुपमा सम्पन्न गर्न सकिने बताएका थिए ।
तल्लो अरुण सतलजले बनाउँदा लागत, निर्माण सामग्रीको आयात तथा अन्य प्राविधिक तयारीका लागि समेत सजिलो हुने भारतीय पक्षको तर्क थियो । त्यसअघि २०७५ माघमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुन भारत भ्रमणमा पुग्दा पनि राज्यमन्त्री सिंहले यो विषय उठाएका थिए ।