आमहड्ताल प्रचण्ड र माधव नेपालबाटै उल्लंघन
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड– माधव समूहले आयोजना गरेको देशव्यापी आमहड्तालले आज दिनभर नै जनजीवन प्रभावित भयो ।
उपत्यकामा केही मात्रमा सार्वजनिक यातायात चलेका थिए भने मोटरसाइकल मनग्गै चलेका थिए । सञ्चालन भएका यातायातमाथि अवरोध गर्न खोज्ने १ सय ५७ जना जनालाई पक्राउ गरीएको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यकामा मात्रै ८० जना अवरोध गर्न खोज्ने व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
राजधानी बाहिर हेटौंडा, नारायणगढ, विराटनगर, वुटवल, महेन्द्रनगर लगायतका क्षेत्रमा सञ्चालित सवारी साधन तथा ट्रकमा ढुङ्गा प्रहार गरेर तोडफोड गरेका थिए भने काठमाडौंको सामाखुशीमा विहानै ट्याक्सीमा आगजनी गरेर ध्वस्त बनाएका न् ।
देशका विभिन्न ठाउँमा एक सरकारी गाडी सहित दर्जनौ गाडी तोडफोड गरेको प्रहरीले जनाएको छ ।
उपत्यकामा माइक्रोबस लगायतका सार्वजनिक सवारी साधनमा प्रहरी खटाइ सुरक्षा दिइएको र केही सार्वजनिक यातायात सञ्चालन गरिएको थियो ।
संवैधानिक निकायमा भएको नियुक्ति लगायतका विषयलाई लिएर सो समूहले आज देशभर आमहड्तालको घोषणा गरेको थियो ।
उता जनकपुरमा सो समूहका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो। यातायातका साधान तोडफोड गर्न थालेपछि प्रहरीले रोक्न खोज्दा आन्दोलनकारी र प्रहरीबीच झडप भएको बताइएको छ ।
झडपमा नेकपाका नेताहरु मातृका यादव र रामचन्द्र झालगायत दर्जनबढी कार्यकर्ता र केही प्रहरी समेत घाइते भएको बताइएको छ । घाइतेहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास तथा हवाइ फायर गरेको बताइएको छ । आन्दोलनकारीले प्रहरीको भ्यानमा समेत तोडफोट गरेपछि लाठीचार्ज र अश्रुग्यास प्रहार गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको बताइएको
छ।
आमहडताल शान्तिपूर्ण भनेपनि सो समूहका कार्यकर्ताले एम्बुलेन्स तोडफोड, ट्रकमा आगजनी, र तरकारी किसान, पत्रकारमाथि आक्रमण गरेका दृश्यहरु सामाजिक सञ्जालमा आएका छन् ।
यसैवीच आमहड्तालमा सर्वसाधारणका सवारी चल्न नदिएकोे र चलेका माथि पनि तोडफोड गरे । तर सोही समूहका शीर्ष नेताहरु प्रचण्ड र माधव नेपालहरु भने आमहड्ताल अनुगमन गर्न सवारी साधन चढेरै पुगेका थिए ।
प्रचण्ड गाडी चढेरै सातदोवाटो, कोटेश्वर, पुलचोक लगायतका क्षेत्रमा पुगेका थिए भने माधव नेपाल स्कुटर चढेर कोटेश्वर पुगेका थिए ।
प्रचण्ड बा १७ च ३०७१ नम्बरको प्राडो चढेर आएका थिए भने उनका अगाडि–पछाडि सुरक्षाकर्मीका गाडी पनि थिए ।
अर्का अध्यक्ष माधवकुमार नेपाल कार्यकर्ताले हाँकेको बा ५२ प ५८१४ स्कुटर चढेर कोटेश्वर चोक पुगेका थिए।
अरूलाई गाडी चलाउन नदिने, चलाएकाहरु पनि जलाउने, तोडफोड गर्ने अनि आफू चाहिँ गाडी चढ्न मिल्छ भन्ने प्रश्न गर्दै प्रचण्ड, माधव नेपालको चर्को आलोचना भएको छ । नेताहरु गाडी चढेर आएकोमा उनीहरुकै कार्यकर्ताहरुले समेत आश्चर्य व्यक्त गरेका थिए ।