एमसीसीको विरोधले निहुरियो शिर
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहले बिहीबार देशव्यापी रुपमा आमहड्ताल आव्हान गरेको थियो ।
सो समूहको ‘हाई कमाण्ड’ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का अध्यक्ष माधवकुमार नेपालको आदेशमा कार्यकर्ताले चोकचोकमा बसेर सवारी साधान सञ्चालनमा अवरोध पुर्याएका थिए भने सञ्चालन भएका केही सवारी साधन तोडफोड, आगजनी गरेका थिए । तर, तिनै हाइकमाण्ड भन्नेहरुले सवारी साधन चढेर हड्तालको अनुगमन गर्न र सहभागिता जनाउन सडकमा पुगेपछि सर्वसाधारणले आक्रोश पोखे भने उनीहरुकै दलका कार्यकर्ताले पनि लज्जावोध गरेको पाइयो ।
करोडौं पर्ने बा १७ च ३०७१ नम्बरको प्राडो गाडीमा प्रचण्ड अगाडि पछाडि सुरक्षाकर्मीका गाडी सहित सातदोवाटो, कोटेश्वर, पुलचोकलगायतका क्षेत्रमा पुगेका थिए भने माधव नेपाल स्कुटर चढेर कोटेश्वर चोक पुगेका थिए । एक किलोमिटर भन्दा कम दुरी भएको ठाउँमा समेत माधव नेपाल कार्यकर्ताले हाँकेको बा ५२ प ५८१४ स्कुटर चढेर कोटेश्वर चोक पुगेका थिए ।
गाडी चढेर घुमेका प्रचण्ड पुल्चोकमा पुगेर सडकमा बसेर चिउरा खाएको र केहीबेर नाराबाजीमा सक्रिय भएका थिए । नारावाजीका क्रममा एमसीसी चाहिदैन भन्दै कार्यकर्ताले नारा लगाए पछि प्रचण्डले सो नारा नलगाउन भनेका थिए । तर कार्यकर्ताले नछोडेपछि प्रचण्ड खत्र्याकखुत्रुक हुँदै शिर निहुराएर हिडेका थिए ।
अरूलाई गाडी चलाउन नदिने, चलाएकाहरु पनि जलाउने, तोडफोड गर्ने अनि आफू चाहिँ गाडी चढ्न मिल्छ ? भन्ने जनताको प्रश्न प्रचण्डका लागि जति महंगो सावित भयो, त्यो भन्दा बढी एमसीसी महंगो परेको उनको हाउभाउले देखिन्थ्यो ।
सवारी साधन चल्न नदिन बसेका कार्यकर्ताहरुले प्रचण्ड–माधव नेपाल सवारी साधनमा आएपछि आश्चर्यमा परेका थिए । आफ्नै नेताहरु गाडी चढेर आएपछि अरुलाई कसरी रोक्नु, आमहड्ताल त अध्यक्षहरुले नै उल्लंघन गरे भन्दै कार्यकर्ताहरु खासखुस गर्दै थिए ।
आमहड्ताल शान्तिपूर्ण भनिए पनि एक ट्याक्सी जलाए, एम्बुलेन्स तोडफोड गरे, ट्रकमा आगजनी गरे र तरकारी किसानमाथि आक्रमण गरेका दृश्यहरु सामाजिक सञ्जालमा आएका छन् ।
प्रचण्ड–माधवको सामन्ती प्रवृत्तिको हजारौले विरोध गरेका छन् । आमहड्ताललाई सफल बनाउन ऐक्यवद्धता जाहेर गर्दै चावहिल चोकमा नेकपाका कार्यकर्तासँग खटेका प्रगतिशील साहित्यकार खगेन्द्र संग्रौलाले समेत प्रचण्ड–माधव समूहको बन्दमा शीर्ष नेताकै रवाफप्रति आक्रोश व्यक्त गरेका छन् ।
पूर्णतः सवारी रोक लगाउने गरी आयोजना गरिएको आमहड्तालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ल्याण्डक्रुजर कार र माधव नेपाल स्कुटर चढेर कार्यकर्ताको माझमा पुगेको भन्दै उनले आक्रोश व्यक्त गरेका छन् ।
सामन्ती पारामा कार्यकर्तालाई आदेश दिने, जनताले दुःख सहेरै पनि उनीहरुको आदेश मानिदिनुपर्ने तर, आफूहरुचाहिँ आफ्नै आदेशको उल्लंघन गर्दै वाहन चढेर कार्यकर्तालाई ढाडस दिन पुगेको भन्दै संग्रौलाले प्रचण्ड–माधव प्रवृत्तिको आलोचना गरेका हुन् ।
सोही दिन ट्विट गर्दै उनले लेखेका छन्, “सामन्ती चलनमा आदेश दिनेले आदेश मान्नु नपर्ने ! बन्दको आदेश दिने पुष्पकमल आदेश तोड्दै ल्याण्डक्रुजर चढेर भाषण ठोक्न पुल्चोक सवारी, माधव स्कुटर चढेर कोटेश्वर सवारी । वाहन चलाउने अरूलाई ढुङ्गामुढा र गाली गर्ने दासवत् कार्यकर्ता आफ्ना नेतालाई ताली ! सडकमा देखियो यिनको जनवाद !’