प्रतिनिधिसभाको बैठक बस्दैः मौलिक हकसँग सम्बन्धि विधेयकमा छलफल हुने
काठमाडौं- प्रतिनिधिसभाको बैठक आज बस्दैछ । मौलिक हकसँग सम्बन्धित लगायतका विधेयकहरुका बारेमा आजको बैठकमा छलफल हुने कार्यसूची रहेको छ ।
असोज २ गतेभित्र मौलिक हक लगायतका विभिन्न ऐन जारी गर्नुपर्ने संवैधानिक बाध्यता रहेकोछ । त्यसैभएर पनि सरकारले १४ वटा विधेयक संसदमा दर्ता गराएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले लगातार संसद अवरुद्ध गरेपछि विधेयकमाथिको छलफल अघि बढ्न सकेको छैन ।
आज दिउँसो १ बजे बोलाइएको संसद बैठकमा भने मौलिक हक, नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक लगायतमा छलफल गर्ने तयारी रहेको छ ।
सरकारले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, राहदानीसम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक, नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेका विधेयक लगायत १४ वटा विधेयक संसदमा दर्ता गराएको छ ।