गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर–५ का वडाअध्यक्ष सधै जनताको सेवामा

गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर–५ का वडाअध्यक्ष हरि प्रसाद शर्मा खनालले जनताको सेवामा आफू तल्लिन रहेको बताउनुभएको छ । रेडियो रेसुङ्गासँगको छलफलका क्रममा उहाँले भन्नुभयो, ‘जनताको बीचमा घोषणापत्र बनाएर गएको त्यो दिनलाई बिर्सेको छैन् । अठार घण्टा जनताको सेवामा बिताई रहेको छु । तपाइले पनि सुन्नुभएको होला । वडा नम्बर पाँचमा पक्ष र प्रतिपक्ष भन्ने छैन् ।’

चुनावी जित र हारलाई खेल प्रतियोगितामा हुने विजय र पराजयको उदाहरण दिँदै खनालले भन्नुभयो ‘खेलमा पनि विजय र पराजय भएपछि अन्तिममा खेलाडीले हात मिलाएर दुबैले सम्मान् पाउँछन् । विजय भएँ भनेर मलाई घमण्ड छैन् । पराजय भएँ भनेर पनि मेरा साथीहरु निराशजनक हुनुहुन्न ।’ वडाको विकास लागि मिलेर अगाडी बढेको अध्यक्ष खनालले दाबी गर्नुभयो ।

सिमित साधन र स्रोतका बीचमा पनि यस वडाले आर्थिक, सामाजिक र भौतिक विकासलाई केन्द्रमा राखेर अगाडी बढेको वडाअध्यक्ष खनाल बताउनुहुन्छ । यस आर्थिक वर्षमा स्थानीय सरकार मार्फत ७६ लाख ६० हजार बजेट पार्न सफल भएको बताउनुभयो । सदरमुकाम तम्घास देखि साढे ६ किलोमिटरको दुरीमा अवस्थित यस वडा साविकका दुई गाविस मिलेर बनेको छ ।

वडाको आफ्नै बजेटमा नवनिर्मित आर्कषक वडा कार्यालय

वडाको भाग्य र भविष्य निर्माण गर्ने र वडाबासीलाई सहज र सर्वसुलभ सेवा प्रवाह गर्ने थलो वडा कार्यालय हो । सोही पक्षलाई ध्यानमा राख्दै अहिले महत्वपूर्ण कडीको रुपमा रहेको वडा कार्यालयको आर्कषक भवन रु ७५ लाखको लागतमा निर्माण गरिएको छ । आउँदै गरको नयाँ बर्षमा यस वडाले नयाँ भवनबाट सेवा दिने तयारी गरिरहेको वडाअध्यक्ष खनालले बताउनुभयो । वडाको आफ्नै बजेटमा नवनिर्मित वडा कार्यालय निर्माण भएको भन्दै वडाअध्यक्ष खनालले खुसी व्यक्त गर्नुभयो । वडा कार्यालयलाई प्रविधिसँग जडान गरिएको छ ।

(निमांंणाधिन वडा कार्यालय)

शिक्षालाई प्रविधिमैत्री बनाउन यस वडामा रहेको जनसहयोग माध्यमिक बिद्यालयमा इन्टरनेट जडिट कम्प्युटर प्रयोगशाला सञ्चालनमा रहेको छ । अहिले यस बिद्यालयमा ४२५ जना बिद्यार्थीहरु अध्ययनरत रहेका छन् । यो बिद्यालय पनि भौतिक पूर्वाधारहरु सहित अगाडी बढिरहेको छ । वडाले बिद्यालयको भवन मर्मतका लागि अहिले १० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

(जनसहयोग माध्यमिक बिद्यालय )

वडाका नागरिहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै सोही वडामा अर्खले स्वास्थ्य चौकी मार्फत स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ । अहिले यस स्वास्थ्य चौकीमा एक जना छैठौँ सिनियर अहेब, एक जना पाचौँ सिनियर अहेब, अहेब छैठौँ एक जना र एक जना कार्यालय सहयोगी मार्फत सेवा प्रवाह भइरहेको छ । यस स्वास्थ्य चौकीका लागि यस वर्ष एक तला थपका लागि वडाले ३० लाख बजेट बिनियोजन गरेको वडाअध्यक्ष खनालले जानकारी दिनुभयो ।

(अर्खले स्वास्थ्य चौकी )

यस वडामा रहेका जेष्ठ नागरिकहरुको दिवाकालिन स्याहार र सम्भारका लागि वडाले जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालनका लागि भवन निर्माण गरेको छ । १५ लाखको लागतमा वडाले जेष्ठ नागरिकहरुका लागि एउटा हल, २ वटा कोठा सहितको जेष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन गर्न भवन निर्माण गरेको खनालले जानकारी दिनुभयो ।

(जेष्ठ नागरिकहरुलाई दिवा सेवा केन्द्र )

कार्यालयद्वारा बेरोजगार युवाहरुलाई लक्ष्यित गरि यस केन्द्रमार्फत बेला–बेलामा विभिन्न सिपमूलक तालिम सञ्चालन समेत गर्ने गरिएको कार्यापालिका सदस्य समेत रहनुभएकी देवी कुँवरले जानकारी दिनुभयो । दिवा सेवा केन्द्र नजिकै धार्मिक आस्थाको केन्द्रको रुपमा रहेको राधाकृष्ण मन्दिर निर्माण गरिएको छ । १२ लाख भन्दा बढीको लागतमा आर्कषक शैलीको मन्दिर निर्माण गरिएको कुँवरले जानकारी दिनुभयो ।

(राधा कृष्ण मन्दिर) ः तस्बिरहरु पुरन विश्वकर्मा ÷ सुनिल थापा

वडाका नागरिकहरुलाई खानेपानीको समस्या समाधानका लागि विभिन्न लिफ्टिङ खानेपानी आयोजनाहरु सञ्चालित रहेका छन् । अहिले यस वडामा चिदिगैरा गोबारो लिफ्टिङ खानेपानी आयोजना, बर्दवास डाँडा लिफ्टिङ खानेपानी आयोजना, लाम्चेढुङ्गा बाँझापोखरा लिफ्टिङ खानेपानी आयोजना लगायतका आयोजनाबाट खानेपानीको सुविधा उपलब्ध गराइएको वडाअध्यक्ष खनालले जानकारी दिनुभयो ।

यस वडाका विभिन्न स्थानमा १० वटा प्रतिक्षालय निर्माण गरिएको छ । जनश्रमदान सहित करिब ११ लाखको लागतमा प्रतिक्षालयहरु निर्माण भएका वडासदस्य धन बहादुर नेपालीले बताउनुभयो ।

स्थानीय नागरिकहरुको मनोभावना अनुरुप शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सडक निर्माणलाई बिशेष प्राथमिकतामा राखेर विकास यस वडाले निर्माणलाई तीव्र बनाएको छ । शिरमा प्रख्यात बन्दै गएको ट्रि–हाउस यर्थात रुख घर रहेको यस वडा पर्यटकीय गन्तव्यहरुलाई जोड्ने केन्द्र बिन्दुको रुपमा अगाडी बढेको छ ।

जैविक विविधताले पूर्ण यस वडामा ३ वटा सामुदायिक वनहरु रहेका छन् । चुम्पले उनायचौर सामुदायिक,
खक्सेनी सामुदायिक वन, नुनथला कटेनीचौर सामुदायिक वन रहेको छ । साथै चुम्पले सामुदायिक वन तथा खक्सेनी सामुदायिक वन डिभिजन वन कार्यालयद्वारा सम्मानित समेत भएका छन् ।

मोटरबाटोद्वारा प्रत्येक वस्तीहरुलाई जोड्दै यस वडाले वडा कार्यालयबाट प्रवाह हुने सेवालाई समेत सजिलो र प्रभावकारी बनाएको छ । त्यहाँका स्थानीयहरुको मुख्य फसलको रुपमा रहेका मकै, धान, गहुँ, कोदोको उचित प्रवर्धनका लागि वडाले कृषिलाई समेत बिशेष ध्यान पुर्याएको वडाअध्यक्ष खनालको भनाई रहेको छ ।