प्रचण्डले नेपालका लागि राजनीतिक गरेका हुन् कि भारतका लागि ?

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतसँगको राम्रो समझदारी नबनाइकन नेपालमा स्थायित्व र विकास सम्भव नरहेको बताएका छन् । उनले आफू नेतृत्वको नेकपासहित काँग्रेस र जनता समाजवादी पार्टी नेपालबीचको सरकार बने भारतका लागि समेत कम्फर्टेबल हुने अभिव्यक्ति दिएपछि उनको आलोचना भएको छ । प्रचण्डले नेपाल र नेपालीका लागि राजनीति गरेका हुन् कि भारतका लागि ? भन्ने प्रश्न पनि उठेको छ ।
शुक्रबार राति एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा प्रचण्डले त्यस्तो अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमा उनको चर्को आलोचना भएको छ । आफ्नै पार्टी नेतृत्वको सरकार ढाल्न उनी किन कस्सिएका रहेछन् भन्ने कुरा प्रष्ट भएको टिप्पणी सामाजिक सञ्जालमा आएका छन् ।
प्रधानमन्त्री केपी ओलीले चीनसँग पारवहन सम्झौता गर्दा पहिलो पटक आफू हट्नु परेको र अहिले आफ्नो भूमि समेटेर चुचे नक्सा जारी गरेपछि आफूलाई हटाउने षडयन्त्र भएको र त्यसमा आफ्नै पार्टीका नेताहरु लागेको बताउँदै आएका छन् । प्रचण्डले शुक्रबारको अन्तर्वार्ताले ओलीको आरोप पुष्टि भएको टिप्पणी सामाजिक सञ्जालमा भएका छन् ।
अन्तर्वार्तामा प्रचण्डले भनेका छन् “यहाँ कोही कसैका विरुद्ध षड्यन्त्र होइन यो, ती शक्ति (कांग्रेस, राजपा र आफू नेतृत्वको पार्टी) मिल्दा नै देशमा राजनीतिक स्थायित्वको वातावरण बन्ने भयो र इतिहासले जसलाई अगाडि बढ भनेको हो तिनै अघि बढ्नुपर्यो । त्यसो भएर मेरो भनाइ नेपाली काँग्रेस, हामी र जनता समाजवादी पार्टी मिलेर जाँदा देशको राजनीति चेक एण्ड ब्यालेन्स पनि हुन्छ, सन्तुलनमा पनि बस्छ । सबै छिमेकीहरुसँगको सम्बन्ध राम्रो भएर पनि जान्छ । भारतसँग पनि चीनसँग पनि राम्रो सन्तुलन हुन्छ । अझ भारतसँगको हाम्रो जुन विशिष्ट सम्बन्ध छ, इतिहास, भूगोल, संस्कृति, धर्म–परम्परा, अर्थतन्त्र, पानीढलो, खुला सीमाना सबै कारणले भारतसँग राम्रो समझदारी नबनाइकन पनि नेपालमा स्थायित्व विकास त हुँदैन । त्यसरी हेर्दा म के देख्छु भने नेपाली काँग्रेस, हामी र जनता समाजवादी पार्टी मिल्नु भनेको भारतको निम्ति पनि कम्फर्टेबल समीकरण हो । चीनको लागि पनि यो कम्फर्टेबल नै हुन्छ । यति राम्रो सम्भावना अहिले छ, यो सम्भावनामा जानुपर्यो भनेर मैले भनेको छु । फेरि आत्मसमीक्षासहित भनेको छु, यो नै सबैको हितमा छ भन्ने मेरो भनाइ हो ।”
संयुक्त सरकार बन्छ त भन्ने प्रश्नमा प्रचण्डले भनेका छन्, “हिजो गणतन्त्रको आन्दोलन गर्दा असम्भव कुरा हो भन्ने केपी ओली, हिजो माओवादीलाई पनि शान्ति प्रक्रियामा ल्याउने सकारात्मक वातावरण बनाउनुपर्छ भनेर वामदेव गौतम र युवराज ज्ञवाली रोल्पा जानु भयो– म र बाबुराम थियौं अब हामी मिलेर जाने भनियो । त्यो भन्नेलाई कारबाही गर्नुपर्छ भन्ने केपी ओली, समानुपातिक समावेशी हुनुहुँदैन भन्ने केपी ओली, हिजो गणतन्त्रको आन्दोलनको नेता त माधव कुमार नेपाल हो नि । हामी सबै सँगै छौं, नेपाली काँग्रेसको नेता गिरिजाप्रसाद कोइरालाले हिजो साहस गरेर पहल नलिएको भए शान्ति सम्झौता हुन गाह्रो थियो । सात दलको नेताको हैसियतले उहाँले भूमिका खेल्नु भयो । शान्ति सम्झौतामा दुई नेताले हस्ताक्षर गरियो । त्यो सबै शक्ति त हामी एकै ठाउँमा छौँ नि ! यी शक्ति मिल्नुपर्यो भन्या हो ।”
‘नेपाल भारत सम्बन्धको कुरा गर्दा तपाईँले भारतसँग राम्रो सम्बन्ध बनाउन पहल गरेकै हो, विगतमा प्रचण्डले भारतसँगको सम्बन्धलाई सुमधुर बनाउन सक्नुभएन अविश्वासिलो बन्नुभयो भन्ने कुरामा चाहिँ तपाईँ के भन्नुहुन्छ’ भन्ने प्रश्नमा प्रचण्डले भारतसँग राम्रो समझदारी नबनाइकन नेपालमा विकास, समृद्धि र स्थायित्वमा चुनौति रहेको बताएका छन् ।
उनले भनेका छन्, ‘भारतसँग नेपालको सम्बन्धलाई सुमधुर बनाउनु पर्छ । आपसी विस्वासको धरातलमा उठाउनुपर्छ भन्ने मान्यतामा, ५–७ वर्षदेखि लगातार छु । भारतसँग राम्रो समझदारी नबनाइकन नेपालमा विकास, समृद्धि र स्थायित्वमा चुनौति हुन्छ भन्ने कन्भिक्सनका साथ भनेको छु । यो बीचमा जति मेरो भारतमा भ्रमण हुँदा, नेताहरुसँग भेट्दा मैले त्यही कुरा भनेको छु । कताकता प्रचण्डले भन्याजस्तो गर्न सकेन भन्ने कुरा पनि परेको हुनसक्छ । तर मेरो भनाइ के छ भने मैले कुनै अर्को मनसायले गरेको छैन । मैले कतिबेला के गर्न सकेँ, कतिबेला गर्न सकिनँ त्यो हाम्रो आन्तरिक मामिला हो । हाम्रो पार्टीको आन्तरिक मामिला पनि हो । मैले कसैलाई अविश्वास पैदा होस् भनेर गरेको छैन । भारतप्रति नकारात्मक सोच राखेर मैले केही पनि गरेको छैन । मैले छिमेकीहरुसँग राम्रो सम्बन्ध हुनुपर्छ, भारतसँग पनि चीनसँग पनि भनेको छु, तर भारतसँगको सम्बन्ध विशिष्ट छ । हाम्रो इतिहासले, भुगोलले, संस्कृतिले परम्पराले, धर्मले, अर्थतन्त्रले, पानीढलाले भारतसँगको सम्बन्धलाई राम्रो बनाउनुपर्छ भन्ने डिक्टेक्ट गरेकै छ । तर भारतले म जस्तो मान्छेलाई जसले शान्ति र लोकतन्त्रको निम्ति यत्रो योगदान गर्यो अविश्वास हुन्छ भन्ने लाग्दैन ।”
उनले थपे “नेपालमा मलाई बेलाबेला मान्छेहरुले बेस्सरी गाली गर्छन् तर अन्तिममा नेता त उही हो भन्छन् । भारतीय जनताले पनि मलाई माया गर्छन् । भारतभरि नै प्रचण्ड राम्ररी जनताको तहमै चिनिन्छ, त्यहाँको मिडिया, बुद्धिजीवि र आमजनताले पनि प्रचण्डलाई सबभन्दा बढी चिन्छन् र माया गर्छन् । किनभने शान्ति ल्यायो ।”
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई पूर्ण विश्वास गर्ने बताउँदै प्रचण्डले भनेका छन् “अब प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमा भाषण गर्दा ‘युद्धबाट बुद्धतिर’ ‘युद्धबाट शान्तितिर’ तपाईँहरुले ठूलो काम गर्नुभयो भनेर जो भाषण गर्नुभयो मैले बुझेको छु, उहाँले त्यो मलाई नै भन्नु भएको हो । मेरो बारेमा र नेपालको बारेमा उहाँले संयुक्त राष्ट्रसंघको अधिवेशनमा बोल्नुभयो–नेपालको शान्ति विश्वकै लागि एउटा उदाहरण हो भन्ने स्प्रिटमा बोल्नुभयो । लालकिल्लाबाट पनि उहाँले हाम्रो बारेमा बोल्नुभयो भने उहाँले मलाई कसरी अविस्वास गर्न सक्नुुहुन्छ ? म कल्पना पनि गर्न सक्दिनँ । एउटा, असल मित्र र छिमेकीको रुपमा कहिँकतै अली अली बादल र तुँवालो लागेको छ भने पनि क्षण भरमै त्यो तुवाँलो फाटिन्छ, बादल हट्छ उज्यालो हुन्छ । हामी एकअर्कामा भारतीय, कन्सर्न, चासो चिन्तालाई हामीले सकेसम्म छिमेकीको हैसियतले सम्बोधन गर्ने र हाम्रो चिन्ता र चासोलाई पनि भारतले सकेसम्म सम्बोधन गर्ने र यो सम्बन्ध फेरि विकसित हुन्छ भन्ने म विश्वास गर्छु ।”

प्रचण्डको अभिव्यक्ति खेदजनक : चौधरी
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहकी नेतृ शान्ता चौधरीले पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले एक वर्षदेखि नेपाली जनताको भावनाको अपमान हुनेगरी विभिन्न गतिविधि गरेको आरोप लगाएकी छिन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत नेतृ चौधरीले शुक्रबार साँझ प्राइम टाइम्स टेलिभिजिनमा प्रचण्डले दिएको अन्तर्वार्तामा ‘भारतीय पक्षपोषण’ हुनेगरी अभिव्यक्ति दिएको अरोप लगाएकी छन् ।
‘देशको सार्वभौमिकता र जनताको स्वाभिमानमाथि खेल खेल्नेहरुलाई बेलैमा चिन्न, अध्यक्ष प्रचण्डले हामी केहिमा रहेको भ्रम चिरिदिनुभयो,’ उनले लेखेकी छन्, ‘अँस्ति आन्दोलनको बेला भारतीय हस्तक्षेपको आह्वान गर्नु अनि अहिले भारत सुहाउँदो सरकार बनाउनुपर्छ भन्ने कुरा आउनु खेदजनक छन् ।’