कथा – उपासना
स्वामी अग्नेश जीवनदर्शनबारे प्रवचन दिइरहेका थिए ।
‘जीवन क्षणभंगुर छ । अनित्य छ । असार छ । जीवन अनन्त र अशेष भइदिए मान्छे झन् दिग्भ्रमित, मूढाग्रही अनि कठोर बन्ने थियो । कहिलेकाहीँ मान्छे भ्रममा पनि आनन्द मानिरहेको हुन्छ । सपनामा पनि आनन्दित हुन्छ । एक दिन देहत्याग गर्नुपर्छ भन्ने थाहा पाएर पनि मानिस लोभ, अहंकार, क्रोध र मोहको सिकार बनिरहेको छ ।’
सयकडौं श्रेता र भक्तजनको समूहमा एउटी अधबैंसे महिला स्वामी अग्नेशलाई निर्निमेष हेरिरहेकी थिइन् । स्वामीजीको प्रवचन र अतीत उनको मनमा समुद्रको छाल बनेर ठोक्किँदै थियो ।
त्रिचन्द्र कलेजमा स्नातक तह पढ्दापढ्दै पच्चीस वर्षअघि अग्नेशसँग परिचय हुँदा विशाखा निक्कै लजाएकी थिइन् ।
‘मेरो मामाघर पनि नेपालगन्ज हो ।’ अग्नेशले विशाखासँग निकट बन्ने प्रयत्न गर्दै भनेको थियो ।
अनुहारमा खासै परिवर्तन देखिँदैन । बोल्ने शैली उस्तै छ । कलेजका अग्नेश चलचित्रको नायक जस्तो थियो । पढाइमा मात्र होइन, हरेक क्षेत्रमा अग्रणी । उसको आद्योपान्त जीवन पढेकी विशाखा सोचिरहेकी थिइन्– ‘त्यस्तो मान्छे यस्तो हुँदोरहेछ ।’
प्रवचन सिद्धिएपछि उद्घोषकले माइकबाट घोषणा गरे– ‘आजको कार्यक्रम विसर्जन गरिँदैछ । भोलि बिहान आठ बजे स्वामीजीबाट श्रीमद्भागवत गीताबारे सारगर्भित प्रवचन हुनेछ ।’
भक्तजनहरू आआफ्ना घरतर्पm लागे । मञ्चको छेउमा बसेकी विशाखा भावशून्य भएर स्वामीजीलाई हेरिरहेकी थिइन् ।
उद्घोषकले छेउमा आएर सोधे– ‘देवीजी, तपाईं स्वामीजीको दर्शन गर्न बस्नुभएको हो ?’
‘हजुर…’ उनले विनम्र स्वरमा आपूm स्वामीजीलाई भेट्न उत्सुक र व्यग्र भएको बताइन् ।
विशाखाको मनमा ज्वारभाटा थियो । भेटेर के भन्ने ? गुनासो गर्ने कि प्रशंसा ? स्वामीजीलाई उपासनाको पात्र ठान्ने कि आलोचनाको ? पच्चीस वर्षपछि भेट हुँदा के सोच्लान् उनले ? धर्म र अध्यात्ममा चुर्लुम्म डुबिसकेका अग्नेश स्वामी हिजोको अग्नेश हुँदै होइन । किन भेट्ने उनलाई ? मनमा प्रश्नैप्रश्नको बाढी आएपछि विशाखालाई झन् अप्ठ्यारो भएको छ ।
‘के सोच्नुभएको हजुरले ? दर्शन गर्न चाहनुहुन्छ भने समय मिलाइदिउँला ।’ उद्घोषक युवकले आपूm हतारमा भएको संकेत दिए । वास्तवमै उनी हतारमा थिए । समय व्यवस्थापन गर्न उनलाई धौधौ भइरहेको थियो ।
प्रेक्षालयको पूर्वतिर भव्य भवनको भुइँतलामा विशाखाले स्वामी अग्नेशसँग भेट्ने प्रबन्ध मिलाइयो । लामो अन्तरालपछि फरक परिवेश र फरक मनस्थितिमा भेट हुँदा दुवैजनाको हृदयको तार भंmकृत भइरहेको थियो ।
‘…मलाई त सपना जस्तो लागिरहेको छ । यसरी भेट होला भन्ने सोचेकोसम्म थिइनँ ।’ अग्नेशले विशाखाको आँखामा टल्पलाइरहेका आँसु पुछ्दै भने ।
‘मलाई पनि त्यस्तै लागेको छ अग्नेश । तिमीले गेरूवस्त्र लगाएर योगी र स्वामीको रूप धारण गरे पनि म उही पुरानो अनुहार देखिरहेकी छु । ब्याडमिन्टन खेलाडी, कुशल वक्ता, विद्यार्थी नेता र उटपटाङ कुरा गरेर सबैलाई हँसाउने मान्छे पनि जोगी बन्दोरहेछ । बुबाआमा, करोडौंको चलअचल सम्पत्ति, साथीभाइ सबै बिर्सेर स्वामीजी हुँदा सायद अनुपम सन्तुष्टि मिलेको होला… । विशाखाको व्यंग्यमिश्रित वचनले स्पर्श नगरेको अभिनय गरे अग्नेशले ।
बीएस्सी उत्तीर्ण गरेपछि पशुपतिनाथ मन्दिरमा बस्ने कास्मिरी बाबासँग भागेर वृन्दावन पुगेको अग्नेश थापा र उनकी प्रेमिका विशाखा राणाको सम्बन्ध उत्कृष्ट प्रेमकथामा आधारित चलचित्रभन्दा पृथक् छैन । अमूर्त चित्रजस्तो लाग्ने अग्नेशको जीवन विशाखाका निम्ति एटा प्रहेलिका बनेको छ ।
‘के सोचिरहेकी छौ विशाखा ?’ अग्नेश बोले ।
‘पुराना दिनहरू…’ विशाखाको उत्तरले स्वामी अग्नेशको मुखमण्डलमा परिवर्तन आयो । उनी अन्यमनस्क हुन्थे तर मनको भाव लुकाउन खोजिरहेको प्रतीत हुन्थ्यो ।
अग्नेशले बुबाबाट जन्मदिनमा उपहार पाएको सिट्रोन कार चढेर विशाखा र अग्नेशले चार भञ्ज्याङभित्रका धेरै ठाउँ घुमेका थिए । गोदावरी, सुन्दरीजल, चोभार, सूर्यविनायक, लुभु, साँखु, बूढानीलकण्ठ, बालाजु, स्वयम्भू, बौद्ध, इचंगुनारायण, विसंखुनारायण, फर्पिङ र दक्षिणकाली मात्र होइन, आनन्दवनसम्म पुगेर यो जोडीले विचरण गरेको देख्नेहरू इष्र्या गर्थे । सहरका महँगा होटलमा प्रत्येक हप्ता यिनीहरू घन्टौँ बिताउँथे । तर भावनात्मक सम्बन्धमा मात्र समित रह्यो प्रेम । एकान्त र निर्जन स्थानमा पनि कहिल्यै अग्नेशले विशाखालाई चुम्बनसम्म गरेनन् । विशाखालाई अनौठो लाग्थ्यो ।
यसलाई मर्यादाबोध, लज्जाबोध वा शालीनता ठानेर ऊ मनमनै आपूmलाई भाग्यमानी ठान्ने गर्थिन् । एउटी सुन्दरी प्रेमिकालाई विवाहपूर्व स्पर्श समेत गर्न नचाहने अग्नेशको अससल चरित्रप्रति ऊ गर्व गर्थिन् । सहपाठी सुमित्रालाई विशाखाले अग्नेशसँग बिताएका हरेक क्षणको वर्णन सुनाउँथिन् । अग्नेशलाई प्राचीन महाकाव्यको नायक जस्तो ठान्थिन् विशाखा । प्रेयसीको आत्मसम्मानमा चोट नलागोस् भनेर अग्नेश भावुक, संवेदनशील र सतर्क भएको होला भनेर सोच्ने गर्थिन् । अग्नेश एउटा सशक्त र स्वस्थ पुरूष हो भनेर उनी ढुक्क थिइन् । वास्तवमा अग्नेशको व्यक्तित्व औसत युवाको भन्दा चित्ताकर्षक थियो ।
एकदिन सुमित्राले हाँसेर सोधेकी थिइन्– ‘एई विशाखा, तँसँग चार पाँच घन्टा एउटै कोठामा बस्दा तँलाई स्पर्शसम्म नगर्ने अग्नेश कतै नपुंसक त छैन ?’
विशाखालाई सुमित्राको आशंकामिश्रित प्रश्नले असाध्य रिस उठ्यो ।
‘के नचाहिँदो कुरा गरेकी केटी भेट्नासाथ गिद्दले सिनो लुछेभैmँ बदमासी गर्नेहरूलाई मात्र तँ बहादुर र पुरूषार्थी ठान्छेस् ? अग्नेश र अरू केटाहरूमा यही त फरक छ नि ।’ ऊ शालीन, शिष्ट र विनम्र मात्र होइन, मर्यादा पुरूषोत्तम रामजस्तो छ । उसले मसँग कहिल्यै यौनको चाहना गरेन । ऊ विवाहपूर्वको यौन सम्बन्धलाई अनैतिक ठान्ने, संस्कारी परिवारमा हुर्केकोले यस्तो भएको हुनसक्छ ।’
‘त्यही त उसको कमजोरी हुन सक्छ । ऊ नामर्द पनि त हुन सक्छ । बिहे गर्नुअघि राम्ररी सोच है विशाखा । नत्र भविष्यमा पतुछाउनु पर्ला… । धेरैले पछुतो गरेका छन् ।’ सुमित्राले चेतावनी दिइन् ।
विशाखालाई धेरै दिनसम्म सुमित्राका वाक्यहरू दुखिरहे । अग्नेशलाई नपुंसक ठान्ने सुमित्राले बाईसतेइस वर्षकै उमेरमा धेरै केटाहरूसँग रात बिताइसकेकी थिइन् । पचास पचपन्न वर्षका पुरूष पनि उनको जीवनमा आइसकेका थिए । सुमित्रा माया, प्रेम र कवितामय संवादमा होइन, यौनतृप्तिबाट जीवनको रसास्वादन गर्नुपर्छ भन्ने पक्षमा थिइन् ।
लामो अन्तरालपछि अग्नेशसँग भेट हुँदा विशाखाले थुप्रै प्रश्न गर्न चाहेकी थिइन् । पचासौँ सहरमा धार्मिक प्रवचन दिँदै हिँडिरहेका स्वामी अग्नेशलाई भौतिक सुख, भोगविलास र यौनप्रति कुनै चासो थिएन । तर आफ्नो अभिन्न र आत्मीय साथी अग्नेश पलायन भएपछि नितान्त एक्लोजस्तो भएकी विशाखाको यौवनावस्था अग्नेशकै प्रतिक्षामा बित्यो ।
‘… अग्नेश, तिमीलाई एउटा कुरा सोध्छु, माइन्ड नगर है त… ।’ विशाखाले मौनता चिर्दै प्रश्न गरिन् ।
‘सोध, कस्तो प्रश्न हो ?’ अग्नेशले अनुमति दिए ।
‘तिमीले मसँग किन विवाह नगरेको… ?’ विशाखाको प्रश्न वास्तवमै कल्पनातीत र अप्रत्यासित थियो ।
‘तिमीलाई सत्य लुकाएर म मनभित्रको घाउमा नुनचुक छर्न सक्दिन । विशाखा, सत्य जे हो, त्यसलाई सामना गर्नैपर्छ । मैले धेरै वर्ष पलायनको बाटो रोजेपछि सत्यको सामना गर्न सिकेँ । बाह्र तेह्र वर्षकै उमेरमा म हुँ भन्ने चेतना आइसकेको थियो । कलेजमा तिमीसँग भावनात्मक रूपले निकट भएपछि पनि मलाई यथार्थ बताउन साहस भएन। बुबामुमाले विवाहका लागि धेरैपल्ट दबाब दिएपछि मैले पलायनको बाटो रोजें । घरबाट भागेर जोगी भएँ । यौन चाहना र क्षमताको अनुभूति भइदिएको भए म सायद जोगी हुने थिइनँ … । विशाखा, मलाई माफ गर । मैले तिम्रो भावना, आस्था, विश्वास र उपासनाको अवमूल्यन गरेँ ।’
स्वामी अग्नेशको आत्मआलोचना सुनेपछि विशाखा भावुक भइन् । स्वामी अग्नेशका आँसु विशाखाका गालामा मोती बनेर वर्षिन थाले । सहज नेत्रले विशाखाले अग्नेशलाई हेरिरहिन् । उनलाई सुमित्राका कटु शब्दहरूको सम्झना भयो– ‘अग्नेश नपुंसक पनि हुन सक्छ ।’
विशाखाले आपूmलाई सम्हाल्न खोज्दै सान्त्वना दिइन्– ‘अग्नेशको पलायन जीवनप्रतिको वितृष्णा होइन, बाध्यता रहेछ । वातावरणमा सन्नाटा छायो । मौन थिइन् विशाखा । मौन थिए अग्नेश र मौन थियो त्यो वातावरण ।