विधि, पद्धति र प्रक्रियाअनुसार हटाए हुन्छः प्रधानमन्त्री ओली
'प्रचण्ड–माधवले पार्टीभित्र गुटबन्दी गर्दै अराजकता मच्चाउने काम मात्र गरे'
काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई विधि, पद्धति र प्रक्रियाअनुसार हटाए हुने चेतवनी दिनु भएको छ ।
आज पोखरामा आयोजित नेकपा गण्डकी प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–माधवले पार्टीभित्र गुटबन्दी गर्दै शुरुदेखि नै छलछाम गर्ने र अराजकता मच्चाउने काम मात्र गरेको आरोप लगाउनु भयो ।
“समृद्ध नेपाल र सुखी नेपाली” आफ्नो संकल्पमा आम जनताको आकांक्षा, देशको आकांक्षा समेटिएको बताउँदै त्यसलाई सफल बनाउन सरकार र नागरिक सबै लाग्नु पर्ने बताउनुभयो ।
यसअघि एक वर्षमा १० किलोमिटर सडक कालोपत्रे हुन्थ्यो, तर अहिले एक दिनमा ५।७ किलोमिटरका दरले सडक कालोपत्रे भइरहेको वताउँदै प्रधानमन्त्री ओलीले आइतबार मात्रै ३१ वटा सडक पुलको शिलन्यास गरिएको वताउनु भयो ।
प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकार बनेयता विकासको ठूलो काम भएको दावी पनि गर्नुभयो । हिजोसम्म अरुको उत्पादनको उपभोग गर्ने उपभोक्ता मात्र रहेको बताउँदै उहाँले आज हामी कृषि सामग्रीको उत्पादक देश बनेको बताउनु भयो ।
सरकारको कामको रफ्तार देखेर केही मान्छे विचलित भएको र त्यसलाई अवरोध पुर्याउने आफूमाथि सम्पूर्ण रुपले तिव्र ढङ्गले प्रहार भइरहेको बताउनु भयो ।
आफू माथि भौतिक हमला पनि हुनसक्ने सम्भवना रहेको वताउँदै त्यसप्रति आफू सचेत रहेको प्रधानमन्त्री ओलीले बताउनु भएको छ । उहाँले पार्टीलाई तलमाथि पर्न नदिने र देशको भविष्य अन्धकार हुन नदिने बताउनु भएको छ ।
अहिले अपराधिक तत्वहरुसँग सामना गरिरहनुपरेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले झुठा लान्छना लगाएर केही पक्षहरुले दुस्प्रचार गरिरहेको टिप्पणी गर्नुभयो ।
पार्टीको सुढृकीकरण र शुद्धिकरणको आवश्यकता रहेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “राष्ट्रलाई सुदृढ बनाउने संकल्पसाथ हामी अघि बढेका छौं, पार्टी भित्रको सानातिना मतभेदमा अल्झिनु हुन्न ।” अरुले अनुशरण गर्नेखालको आचरण सबैको हुनुपर्ने चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले खोटरहित महान उद्देश्य पूरा गर्न आफूहरु लागेको प्रष्ट पार्नुभयो ।
पार्टी एकता गरी देश बनाउने उद्देश्यले आफू अघि बढे पनि पार्टीका केही नेताहरु पद र प्रतिष्ठाका लागि लागेपछि पार्टीभित्र समस्या निम्तिएको उहाँले बताउनुभयो ।
प्रचण्ड–माधव पक्ष पदको पगडी बाँध्नेहरु मात्र भएको टिप्पणी गर्नुहुँदै उहाँले युवा पङ्तीलाई मूल नेकपामा समाहित हुन आग्रह पनि गर्नुभएको छ । पार्टी बचाउने काम युवाकै काँधमा रहेको चर्चा गर्दै नेकपाका अध्यक्ष समेत रहनु भएका ओलीले कुनै भ्रममा नपरी देश बनाउने अभियानमा लाग्न सबैमा आग्रह गर्नुभयो ।
त्यस्तै सो कार्यक्रममा नेकपा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रचण्ड–माधव पक्षलाई सच्चिने अन्तिम अवसर रहेको बताउनुभयो ।
गत भदौ २६ गतेको निर्णयमा आत्मलोचनासहित फर्किएर पार्टीलाई एकताबद्ध गर्नमा योगदान गर्न उहाँले आग्रह गर्नुभयो । उहाँहरुले आफ्नो गल्तीप्रति आत्मलोचना गरेमा पार्टी अझ एकतावद्ध हुने सम्भावना रहेको उहाँले बताउनुभयो ।
समाजवाद विरोधी, पार्टी विरोधी, राष्ट्रियता विरोधी शक्तिको अगाडि आफूहरु नझुक्ने बताउनुभयो ।
यसैवीच सो कार्यक्रममा नेकपा विप्लव समूह र जसपाका नेता तथा कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका छन् । उनीहरुलाई उपप्रधानमन्त्री तथा सचिवालय सदस्य ईश्वर पोखरेल र गृहमन्त्री बादलले फुलमाला लगाएर पार्टीमा स्वागत गर्नु भएको छ ।