महेन्द्र नमुना माध्यमिक विद्यालयको प्रशासकीय भवनको शिलान्यास
लुम्बिनी प्रदेशको अग्रणीय शैक्षिक धरोहर महेन्द्र नमुना माध्यमिक विद्यालय तम्घास गुल्मीको प्रशासकीय भवनको शिलान्यास गरिएको छ । यो भवनलाई पुरानै शैलीमा पुरात्तात्वीक हिसाबले निर्माण गर्न लागिएको हो । यस विद्यालय भवनको महत्व ऐतिहासिकपूर्ण रहेको छ । पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शशि पन्थीका अनुसार तत्कालीन समयमा गुल्मी र अर्घाखाँची एउटै जिल्ला थिए । हालका गुल्मी र अर्घाखाँची जिल्लाको सबैभन्दा पुरानो विद्यालयको रुपमा महेन्द्र माध्यमिक बिद्यालय परिचित रहेको पन्थी बताउनुहुन्छ ।
लामो इतिहास बोकेको यस विद्यालयको यो भवन ७२ सालमा आएको भुकम्पका कारण थप जिर्ण बनेको थियो । सरोकारवाला सबैको गहन विचार, विमर्श पछि विद्यालयको ऐतिहासिकपूर्ण रुपमा रहेको यस भवनलाई पुरानै शैलीमा निर्माण गर्ने गरि विद्यालयको पञ्चवर्षीय योजनामा समावेश गरि अगाडी सारिएको थियो ।
सोमबार बिहान रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले एक औपचारिक समारोहकाबीच पुरानै स्वरुप कायम गरि निर्माण गर्न लागिएको प्रशासकीय भवनको शिलान्यास गर्नुभएको छ । प्रशासकीय भवनको शिलान्यस गर्दै नगरप्रमुख भुसालले निर्माण व्यवसायीलाई समयमै निर्माण कार्य सम्पन्न गर्न आग्रह गर्नुभयो । भवन निर्माणका क्रममा निर्माण व्यवसायीलाई परेका समस्याहरु नगरपालिका र विद्यालयको समन्वयमा समाधान गरिने उल्लेख गर्नुभयो ।
आफुहरु जनप्रतिनिधिको हिसाबले विभिन्न ठाउँमा दौडधुप गरेर बजेट ल्याए पनि कार्यान्वयनका सन्र्दभमा निर्माण व्यवसायीले समयमै काम सम्पन्न नगरिदिँदा बेला–बेलामा समस्या हुने गरेको बतानुभयो । जिल्लाकै पुरानो शैक्षिक धरोहरको रुपमा रहेको यस विद्यालयको विकासका लागि आफ्नो तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्यका लागि आफु साथमै रहेको उल्लेख गर्दै विद्यालयको प्रशासकीय भवनको शिलान्यास गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो ।
नगरपालिकाका उपप्रमुख सीता भण्डारीले विद्यालयमा विकास भइरहेका भौतिक पूर्वाधार अनुसार र विद्यालयको नाम अनुसारको शैक्षिक शाखलाई जोगाई राख्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘म यस विद्यालयको पूर्व विद्यार्थी र छोटो समयमको शिक्षक पनि हुँ । विद्यालयसंग मेरो भावानात्मक सम्बन्ध बढी छ ।’ अहिले यस जिल्लाका तमाम गाउँपालिकाका विद्यालय खाली हुने अवस्थामा रहेको बताउँदै उपप्रमुख भण्डारीले भन्नुभयो ‘त्यसको मुख्य कारण ति विद्यालयहरुले अभिभावक र विद्यार्थीको चाहना अनुसार गुणस्तरीय शिक्षा प्रदान गर्न सकेनन् ।’ जिल्लामा नमुना विद्यालयको रुपमा विकास भइसकेको विद्यालय अब दशकै नमुनाको रुपमा अघि बढ्न आवश्यक रहेको भण्डारीले बताउनुभयो ।
वडा नम्बर एकका वडाअध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेले अहिले बन्न लागेको भवन पुरानै शैलीको तर अत्याधुनिक एवम् पुरात्तात्वीक रुपमा निर्माण हुने बताउनुभयो । ‘दिर्घकालीन समयसम्म शैक्षिक हिसाबले पर्यटन प्रवद्र्धनका लागि पुरानो विद्यालयको नमुना राख्नका लागि धेरैको विचार, विमर्श र छलफलबाट पुरानै शैलीमा भवन निर्माण गर्न लागिएको हो ।’ वडाअध्यक्ष पाण्डेले भन्नुभयो । ‘पुरानो शैलीमा निर्माण गर्दा सालको काठ प्रयोग गर्नुपर्छ । पुरात्तात्वीक हिसाबले बनाउँदा नमुना कार्यक्रमबाट प्राप्त भएको बजेटले मात्र पुग्दैन् । स्थानीय नगरबाट पनि बजेट बिनियोजन गर्न आवश्यक छ ।’
पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ताराप्रसाद पाण्डेले ठुलो योगदान र मेहनतबाट निर्माण गरिएको विद्यालय भएकाले यसको विकासका लागि सबैले ध्यान दिनुपर्ने बताउनुभयो । चन्दा संकलन गरि शुरुवात गरिएको यस विद्यालयले विभिन्न आरोह–अवरोह पार गरि अहिलेको अवस्थामा आउन सकेको समेत उल्लेख गर्नुभयो ।
पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवम् बौद्धिक व्यक्तित्व शशि पन्थीले लामो इतिहास बोकेको यस विद्यालयको भवन शिक्षक, अभिभावक, विद्यार्थी सबैको भावनाको कदर गर्ने गरि निर्माण सम्पन्न हुनेमा विश्वस्त रहेको बताउनुभयो । विद्यालयका प्रधानाध्यापक युवराज ज्ञवालीले पुरानो र महत्वपूर्ण शैलीमा निर्माण गर्न लागिएको विद्यालयको प्रशासनिक भवनको समयमै निर्माण कार्य सम्पन्न हुनेमा आफु विद्यालय विश्वस्त रहेको उल्लेख गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शालिकराम पन्थीले अहिले बन्न लागेको प्रशासनिक भवनको लागत इस्टिमेट धेरै भएकाले यसमा अझै बजेटको आवश्यक पर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘हाम्रोपनको कार्यक्रम यस विद्यालयमा हुनु आवश्यक छ । हाम्रोपनको गुणस्तर यस विद्यालयमा हुनुपर्छ । हाम्रोपनको अनुशासित विद्यार्थी तयार गर्नुपर्दछ ।’ अध्यक्ष पन्थीले यस विद्यालयको माध्यमबाट रेसुङ्गा नगरपालिकालाई नै शैक्षिक हबको रुपमा विस्तार गर्नका निम्ति नमुना लायक कार्यक्रमका साथ अगाडी बढ्न छलफल, परामर्श गरिहेको बताउनुभयो । नयाँ कार्यक्रमहरु लन्च गर्न सकिन्छ भन्ने हिसाबले विद्यालय अगाडी बढीरहेको पन्थीले उल्लेख गर्नुभयो ।
शिलान्यास कार्यक्रममा रेसङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी, शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख लोकनाथ मरासिनी, वडाअध्यक्षहरु पदमप्रसाद पाण्डे, खुम बहादुर राना, शिक्षा अधिकृत विष्णु ज्ञवाली, कार्यपालिका सदस्य लक्ष्मी पाण्डे, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष छवि खरेल, रेसुङ्गा बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ, शिक्षक अभिभावक संघ अध्यक्ष डम्मर पाण्डे, इन्जिनियर चक्र केसी लगायतको आतिथ्यता रहेको थियो । भने विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक अभिभावक संघका पदाधिकारीहरु, शिक्षक, विद्यार्थी लगायतको उल्लेखनीय सहभागता रहेको शिलान्यास कार्यक्रमको सञ्चालन शिक्षक लक्ष्मी अर्यालले गर्नुभएको थियो । पञ्चवर्षिय योजनाको रुपमा सुरु गरिएको यस विद्यालयको अत्याधुनिक सभाहल हाल निर्माणाधिन अवस्थामा रहेको छ ।