आयोगले नेकपाको विवाद आइतबार भित्रमा टुंगो लगाउने
काठमाडौं । सत्तारुढ दल नेकपाको आधिकारिता विवादको टुंगो आइतबार लगाउने निर्वाचन आयोगले जनाएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले शुक्रबार आयोग पुगेका प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका नेताहरुसँग कुरा गर्दै आइतबार आयोगको बैठक राखेर आधिकारिकताबारे निर्णय गर्ने बताएको सो समूहका नेता राजेन्द्र पाण्डेले बताएका छन् ।
पाण्डेसहित लीलामणि पोखरेल, रामनारायण बिडारी, कृष्णभक्त पोखरेल लगायतका नेताहरु नेकपाको आधिकारिकता, नाम र चुनाव चिन्हको विषयमा निर्णय दिन आयोगले ढिलाई गरेको भन्दै ‘ताकेता पत्र’ लिएर आयोग पुगेका थिए ।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजितको स्थितिमा पुगेको हो । प्रचण्ड–नेपाल पक्षले माघ २० गते आयोगमा बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर बुझाउँदै आधिकारिता आफूहरुले पाउनुपर्ने दावी गरेको थियो ।
प्रचण्ड–नेपाल पक्षको बुधबार बसेको केन्द्रीय कमिटी बैठकले आयोगको कार्यशैलीप्रति आपत्ति जनाउँदै राज्यको कानुन, नेकपाको विधान, लोकतान्त्रिक प्रणाली र मान्यताबमोजिम तत्काल निष्पक्ष एवं न्यायसंगत निर्णय गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।