काँग्रेसको स्पीड कम भयो ः सभापति श्रेष्ठ
नेपाली काँग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठले नेपाल शिक्षक संघको साथमासंगै रहेको बताउनुभएको छ । नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघ जिल्ला कार्य समिति गुल्मीको तम्घासमा सम्पन्न १७ औं प्रतिनिधि सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनुभएका सभापति श्रेष्ठले शिक्षक संघकै कारण काँग्रेस जिवन्त रहेको दाबी गर्दै आफु साथमा रहेको बताउनुभयो ।
सभापति श्रेष्ठले देशमा भएका ठुला परिवर्तनको नेतृत्व नेपाली काँग्रेसले गरेको स्मरण गराउनुभयो । तर अहिले काँग्रेस फुल स्पीडका साथ भने अगाडी बढ्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘देशमा भएका ठुला परिवर्तनको नेतृत्व नेपाली काँग्रेसले ग¥र्यो । तर आफैँ कति परिवर्तनशिल भयौँ भन्ने समिक्षा गरौँ ।’
गुणस्तीय शिक्षा बिना समाज परिवर्तन असम्भव रहेको बताउँदै यसका लागि शिक्षक संघले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
सभापति श्रेष्ठले काँग्रेसका हरेक भातृ संगठनलाई सुदृढ र बलियो बनाएर लैजानका लागि समेत आवश्यकता रहेको औल्याउनुभयो ।
सचिव खिलध्वज पन्थीले शिक्षकका पेशागत हकअधिकार स्थापित गर्न सरकार गम्भिर नरहेको बताउनुभएको छ । कयौँ नेपाली युवाहरु अहिले पनि विदेशका खाडीमा भेटिने गरेको बताउँदै दक्ष जनशक्ति उत्पादन गर्न गुणस्तरीय शिक्षाको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
सचिव पन्थीले गुणस्तरीय शिक्षा प्रदान गर्नमा सरकार गम्भीर नबनेको बताउँदै अहिले स्थानीय सरकार केबल आफ्नो पार्टि र संगठन कसरी बलियो बनाउने भन्नेमा मात्र केन्द्रित रहेको आरोप समेत लगाउनुभयो । शिक्षक संघले जिल्लामा भएका हरेक विपत्तिमा सहयोग गर्दै आएको समेत उल्लेख गर्नुभयो ।
सचिव बिष्णु कुमारी सापकोटाले महिला शिक्षकहरूलाई नेतृत्व विकास सम्बन्धि तालिमको आवश्यकता रहेको बताउनुभयो । अहिले पनि महिला शिक्षकहरूलाई हेर्ने दृष्टिकोण फरक रहेको उल्लेख गर्नुभयो । यसको परिवर्तनका लागि काँग्रेस साथमा रहेको सचिव बिष्णुकुमारी सापकोटाले बताउनुभएको छ ।
नेपाली काँग्रेस केन्द्रीय शिक्षा विभाग सदस्य श्रीप्रसाद भलामीले शिक्षकको मनोबल उच्च नराखेसम्म देशको विकास हुन नसक्ने बताउनुभएको छ । नेपाली काँग्रेसका क्षेत्रिय सभापति भगतसिङ खड्काले नेपाली समाज रुपान्तरणमा शिक्षकहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।
नेपाल शिक्षक संघ गुल्मीका अध्यक्ष प्रेमनारायण भण्डारीको सभापतित्वमा भएको प्रतिनिधि सभामा नेपाल शिक्षक संघ संघीय उप–महासचिव धना भण्डारी, नेपाल शिक्षक महासंघ गुल्मीका अध्यक्ष हिरासिङ सराङकोटी, नेपाल टे«ड युनियन काँग्रेसका जिल्ला अध्यक्ष रेशम कुँवर लगायतको आतिथ्यता रहेको थियो ।
उपाध्यक्ष मृगेन्द्रप्रसाद रिजालको स्वागत मन्तव्य रहेको कार्यक्रममा शिक्षक संघका अर्थ सचिव रामहरि पाण्डेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । गुल्मी जिल्लाको १२ वटै स्थानीयतहका शिक्षक संघका अध्यक्ष एवम् प्रतिनिधिहरुले आ–आफ्नो स्थानीयतहमा संगठनले गरेका गतिविधिहरुका विषयमा जानकारी गराउनुभएको थियो । रेसुङ्गा माध्यमिक विद्यालयमा अध्ययरत विद्यार्थीहरुद्वारा प्रस्तुत नृत्यले कार्यक्रमलाई रोमाञ्चकमय बनाएको थियो । प्रतिनिधि सभा कार्यक्रमको सञ्चालन शिक्षक संघ गुल्मीका सचिव खिम बहादुर खड्काले गर्नुभएको थियो ।