सेनालाई कसैले पनि विवादमा तान्न हुन्नः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनालाई अनावश्यक विवादमा तान्ने प्रयास हुँदै आएको भन्दै वाद प्रतिवादमा नउत्रिने संस्थालाई कसैले पनि विवादमा तान्न नहुने बताएका छन् ।
राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको २० औं स्थापना दिवसका अवसरमा सिंहदरवार परिसरमा अयोजित कार्यक्रमलाई सम्बोधन गर्दै परिषद्का अध्यक्ष तथा रक्षामन्त्रीको भूमिकामा समेत रहेका प्रधानमन्त्री ओलीले अनुत्तरदायी ढंगले सेनालाई हिलो छ््याप्न नहुने बताए । कानुन उलंघन सेनाले गरेको छ भने हेर्ने निकाय रहेको बताउँदै ओलीले वाद प्रतिवादमा नउत्रिने संस्थालाई कसैले पनि विवादमा तान्न नहुने बताए ।
न्यायोचित सैन्य शक्तिको प्रयोगमा जोड दिँदै प्रधानमन्त्री ओलीले सैन्य शक्ति सदैव राष्ट्रिय हितका लागि प्रयोग हुने बताए । सो अवसरमा सेनाको प्रसंशा गर्दैै ओलीले प्रतिरक्षा सुरक्षा, निर्माणजन्य र सेवा जन्य काम सेनाले गर्दै आएको भन्दै पहरासँग टकराउन पनि सेनाले मात्रै सक्ने बताए ।
‘सेनाको गौरवपूर्ण इतिहाहास रहेको बताउँदै प्रधानमन्त्री ओलीले अप्ठेरो पर्दा सबैले सेनालाई सम्झने पनि बताए । अन्तर्राष्ट्रिय क्षेत्रमा पनि अरुले खल्बल्याएको शान्ति स्थापनामा सेनाले महत्वपूर्ण भूमिका खेल्दै आएको स्मरण गर्दै ओलीले पृथकतावादी आन्दोलनलाई अघिल्लो वर्ष सरकारले टुंग्याएको र यो वर्ष विप्लव नेतृत्वको पार्टीलाई पनि शान्ति पूर्ण राजनीतिमा ल्याइएको बताए ।
छिमेकी देशसँग सुमधुर सम्बन्ध कायम गर्न सरकार लागिपरेको भन्दै ओलीले तीव्र विकाससँगै समृद्ध नेपाल सुखी नेपालीको चाहना पुरा गरिने पनि बताएका छन् ।