कर्णाली सरकारलाई एमाले समर्थन : एउटा समूहको फिर्ता, अर्कोको कायमै

मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार धरापमा

सुर्खेत । नेकपा एमाले भित्र बढेको विवाद कर्णाली प्रदेश सरकारमा पनि परेको छ । एमालेमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव कुमार नेपाल समूहमा विभाजित भएको छ । ओली नेतृत्वको एमाले समूहले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको छ भने माधव समूहले समर्थन कायमै रहेको जनाएको छ ।
एमाले संसदीय दल कर्णालीका नेता यमलाल कँडेलले संसदीय दलको बैठक राखेका थिए । वैठकमा १० प्रदेशसभा सदस्य उपस्थित थिए । सो वैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्नुका साथै सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएको छ । तर नेता माधव समूहका ९ जना प्रदेशसभा सदस्य बैठकमा गएका थिएनन् । उनीहरुले सरकारलाई दिएको समर्थन कायमै रहेको बताएका छन् ।
एमाले संसदीय दलको नाममा गुटगत बैठक भएको कर्णाली सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहेका एमाले सांसद प्रकाश ज्वालाले आरोप लगाएका छन् । औपचारिक सूचना नदिइ बोलाइएको गुटगत बैठकले गरेका भनिएका निर्णयहरुप्रति आफूहरुको असहमति रहेको ज्वालाले बताएका छन् ।
पार्टीको ह्वीप लाग्ने भएकाले माधव समूहले संसदीय दलको निर्णय मान्नु पर्ने भएकाले त्यहाँका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार धरापमा परेको छ ।