नेपाली काँग्रेस गुल्मीका पूर्व उप–सभापति थापाको निधनप्रति केन्द्रीय नेताले दिए श्रद्धाञ्जली

नेपाली काँग्रेस गुल्मीका पूर्व उप–सभापति लक्ष्मणसिंह थापाको निधनप्रति नेपाली काँग्रेस गुल्मीले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । स्वर्गीय थापाको निवास गुल्मीदरबार गाउँपालिका–६ चारपालामा नेपाली काँग्रेस जिल्ला कार्य समितिको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको हो ।
नेपाली काँग्रेस गुल्मीका पूर्व उप–सभापति, नेपाल विद्यार्थी संघका संस्थापक सदस्य, वी.पी. विचार समाजका वर्तमान अध्यक्ष तथा नेपाल शिक्षक संघ गुल्मीका संस्थापक जिल्ला अध्यक्ष लक्ष्मणसिंह थापाको यहि फागुन २६ गतेका दिन ७२ वर्षको उमेरमा निधन भएको हो ।
स्वर्गीय थापाको निधन भएको नवौं दिनको पुन्य तिथिको अवसर पारी गरिएको श्रद्धाञ्जली सभामा नेपाली काँग्रेस जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठको सभापतित्व तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य पूर्व सांसद डा.चन्द्र भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।
नेपाली काग्रेस केन्द्रीय सदस्य धनराज गुरूङ, गुरुराज घिमिरे, नेपाली काग्रेसका पूर्व जिल्ला सभापति चन्द्र बहादुर भण्डारी, जिल्ला उपसभापति बिष्णुप्रसाद बलाल, जिल्ला सचिव बिष्णु कुमारी सापकोटा, जिल्ला पूर्व सभापति टिकाराम थापाको बिशेष आतिथ्यता रहेको थियो ।
श्रद्धाञ्जली सभामा शोक मन्तव्य राख्ने वक्ताहरुले दिवंगत थापाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै नेपालको प्रजातान्त्रिक आन्दोलनमा सम्पूर्ण थापा परिवार र स्वर्गीय थापाले पुर्याउनुभएको भूमिका अतुलनीय भएको स्मरण गर्नुभएको थियो ।
सरल र सादा जीवनशैली अपनाउनुभएका थापा देश, जनता र प्रजातन्त्रका लागि एक ईमान्दार र निष्ठावान सिपाही भएको समेत उल्लेख गर्नुभएको थियो । नेपाली काँग्रेस गुल्मी र सुभेच्छुक संस्था नेपाल शिक्षक संघको संगठन विस्तार अभियानमा थापाले निभाउनुभएको भूमिका सम्मानजनक रहेको काँग्रेस गुल्मीले जनाएको छ ।
राणा शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापना र पञ्चायती व्यवस्थाको समाप्तीपछि बहुदलीय व्यवस्थाको पुर्नस्थापनामा शाहदत प्राप्त गर्ने महान शहिद परिवारको सदस्य हुनुको श्रेय उक्त परिवारलाई जाने वक्ताहरुको भनाई छ । कठोर संघर्षमय जीवन अंगाल्नुभएका थापाको योगदानको नेपाली कांग्रेस गुल्मी सदा संस्मरण गरिरहने जनाईएको छ ।