शान्त–सुषुप्त जीजीविषा
सुरम्य नदीको तटमा दर्जनौँ मन्दिरहरू छन् । केही धर्मशालाहरू छन् । अध्यात्म र धर्मको शिक्षा दिने गुरूकुलहरू छन् । वरिपरि हरिया पर्वतले घेरिएको यो ठाउँमा सधैँ भजन–कीर्तन र शंखघण्टको आवाज गुञ्जिरहन्छ सहरबजार अनि कोलाहलबाट टाढा यो ठाउँ तपोभूमिजस्तो लाग्छ ।
एकहत्तर वर्षमा प्रवेश गरेका अमृत शर्मालाई खोज्दै एकजोडी दम्पत्ति त्यहाँ आइपुगे । वृद्धाश्रमका चौकीदारले सोधे– ‘कसलाई भेट्न आउनुभएको ?’
युवती बोलिन्– ‘दाइ यहाँ अमृत शर्मा बस्नुहुन्छ ?’
‘हजुर, उहाँ यहीँ आश्रममा बस्नुहुन्छ । तपाईं उहाँको को ?’
‘हामी उहाँका छोरी–ज्वाइँ ।’ युवती बोलिन् ।
चौकीदारले उनीहरूलाई अमृत शर्माको कोठामा पु¥याए । छोरीलाई देख्नासाथ शर्माका आँखा रसाए । उनले गम्लङ्ग अँगालो हालेर सोधे– ‘नानु, तिमीलाई सञ्चै छ ?’
छोरी बोल्न सकिनन् । सुँक्क सुँक्क रून थालिन् ।
‘नरोऊ बाबा, नरोऊ । मलाई सञ्चै छ । भगवान्को कृपाले आराम नै छु भन्नुप¥यो । ब्लडसुगर, कोलेस्ट्रल र ब्लडप्रेसर अलिकति बढे पनि औषधि खाइरहेको छु । पुराना साथीहरू यही आश्रममा छन् । सुरेन्द्र अंकल, तारा अंकल, कृष्ण अंकल सबैलाई चिन्छ्यौ नि तिमी त । हामी बूढाहरूका लागि यो ठाउँ स्वर्ग जस्तै छ । मेरो केही पीर मान्नु पर्दैन ।’
छोरीसँग आएको युवकतर्पm संकेत गर्दै अमृतले सोधे– ‘उहाँलाई त चिन्न सकिन…।’
‘हजुरको ज्वाइँ । घर पोखरा हो ।’ छोरी बोलिन् ।
‘कति भो बिहे गरेको ?’ बूढाले सोधे ।
‘सात महिना भयो । काठमाडौँमा हामी एउटै अफिसमा काम गर्छौ… ।’ अमृतकी छोरी बोलिन् ।
आफ्नी छोरीको बिहे हुँदा खबरसम्म नपाएकोमा अमृतको मन फेरि रोयो । उनले छोरीको बाल्यकाल सम्झे । बुबा घरबाट बाहिर जाने बेलामा ऊ पछ्याउँदै रूने गर्थी । साँझमा बुबा घर फर्किंदा ऊ खुसीले पुलकित हुन्थी र दिनभरि स्कुलमा भएका घटनाहरू सुनाउँथी ।
‘बाबा, मलाई आज मिसले पिट्नुभयो ।’ ऊ गुनासो सुनाउँथी ।
‘बाबा, आज मेरो साथीको बर्थ डे हो । मैले हजुरलाई पनि चकलेट ल्याइदिएकी छु ।’ ऊ बुबालाई चकलेट खुवाउँथी ।
‘बाबा, मलाई आज मम्मीले गाली गर्नुभयो । ऊ बुबालाई आमाको पोल लगाउँथी ।
‘बाबा, स्कुलमा मलाई साथीले पिट्यो ।’ ऊ ससाना कुरा पनि बुबालाई सुनाउँथी । आज अमृतलाई लाग्यो, छोराछोरीहरू पनि पखेटा उम्रिएका चराहरूभैmँ स्वतन्त्र उड्न चाहँदा रहेछन् । उनले छोरीज्वाइँलाई आशिर्वाद दिँदै भने– ‘भगवान्ले तिमीहरूलाई खुसी राखुन् ।’
अमृतको कोठाका भित्ताहरूमा आँखा दौडाइन् वत्सलाले । पन्ध्र बीसवटा पुराना तस्वीरहरू छन् । दैनिक अखबारदेखि टेलिभिजनका सम्पादक र कार्यक्रम उत्पादक रहिसकेका पुराना पत्रकार अमृत शर्माका ती पुराना तस्वीरहरू हेरेपछि एकजना विदेशी पत्रकारले सोधेका थिए– ‘सर, तपाईं किन नितान्त एक्लो बस्नुभएको… ?’
अमृतले हाँसेर भनेका थिए– ‘म एक्लो बसेको होइन, समाजमै छु । हिजोभन्दा पृथक् समाज । घर, जग्गा, सम्पत्ति, परिवार सबै त्यागेर मन र विचार मिल्नेहरूको समाजमा छौँ हामी । आफ्ना सबै लोभ, आकांक्षा र महत्वाकांक्षा त्यागेर हामी यो रमणीय र शान्त ठाउँमा आएका छौँ । यहाँ छलकपट, अभिमान र अहंकार केही छैन । कुनै स्वार्थ र प्रतिस्पर्धा छैन । केवल एउटा अभिप्सा, एउटा जीजीविषा बाँकी छ । बचेखुचेको जीवन हामी प्रभुको स्मरणमा बिताइदिन चाहन्छौँ ।’
अमृतराज शर्माको अन्तर्वार्ता सञ्चारमाध्यममा आएपछि थुप्रै पुराना साथीहरू उनलाई भेट्न तपोभूमि पुगेका थिए । काठमाडौँकी अनुपा श्रेष्ठ, भक्तपुरका विनोद सिंह, झापाका विमल क्षेत्री, इलामका प्रमोद गौतम, पोखराका प्रदीपराज भण्डारीलगायतका थुप्रै साथीहरू भेट्दा रमाएका थिए अमृत । उनी आगतको अनिश्चित पीडा होइन, विगतका रमाइला दिनहरूमा हराएका थिए ।
छोरीलाई अँगालो हाल्दै अमृतले सोधे– ‘नानु, मम्मीलाई अचेल कस्तो छ ? सञ्चै छिन् ? मलाई सम्झिन्छिन् ? अभैm मप्रति गुनासो छ कि उनले माफ गरिदिइन् ?’ अमृतका प्रश्नहरू सुनेपछि वत्सला डाँको छोडेर रोइन् ।
‘किन रून्छ्यौ छोरी, भन न किन बोल्दिनौ ? कस्तो छ निशालाई ? उनको अल्सर निको भयो ? ढाड दुख्ने रोग ठीक भयो ?
उनको स्वभाव त्यस्तै छ कि अलि फरक छ ? छोरी, तिम्री मम्मीले मेरो कुरा गर्छिन् होला होइन ? के भन्छिन् ? बाबालाई देख्न र भेट्न मन लागेको छ भन्छिन् ? मबाट भएका भूलचुक माफ गरिन् उनले ? बोल न छोरी ? मलाई सुन्न मन लागेको छ ।’ अमृत भावुक बनेर बोल्दै गए ।
बुबाको काखमा टाउको राखेर झन् ठूलो स्वरले रून थालिन् वत्सला ।
‘बाबा, मम्मी यो संसारबाट बिदा भइसक्नुभयो । म यही दुःखद खबर सुनाउन हजुरलाई खोज्दै आएकी हुँ । हामीले कहाँ कहाँ खोजेनौँ हजुरलाई । हरिद्वार, वृन्दावन, काशी सबैतिर खोज्यौँ । इन्टरनेटमा हजुरको अन्तर्वार्ता पढेपछि आज यहाँ भेट भयो ।’ वत्सलाले रूँदै भनिन् ।
‘के भनेकी छोरी तिमीले ? कसरी छोडेर जान सक्छिन् निशाले ? जाडोको हरेक रातमा मलाई सिरक ओढाएर टाउको सुमसुम्याउँथिन् । गर्मीमा पंखा चलाएर छेउमा बसी कपाल मुसार्थिन् । घर फर्किन अलिकति अबेर भयो भने दर्जनौँपल्ट मोबाइलमा फोन गरेर सोधिरहन्थिन् । केही मीठो खानेकुरा पकाइन् भने मलाई राम्ररी खुवाएर मात्र खान्थिन् ।
उनको सधैँ मप्रति एउटै गुनासो थियो– ‘मैले धनलाई भन्दा किताबलाई मात्र महत्व दिने लोग्ने पाएँ । आजको भौतिकवादी युगले जे सिकाएको थियो, उनले त्यही भनिन् । मैले उनीसँग तीस तीस वर्ष सँगै बिताएँ । तर उनले मलाई कहिले पनि योग्य भनिनन् । म वास्तवमा उनका लागि अयोग्य नै थिएँ । अयोग्य नै भए पनि माया गरिन् । निशा अब रहिनन् भन्ने कुरा पत्याउन मलाई गाह्रो भएको छ छोरी । म कसरी पत्याउँ उनी रहिनन् भनेर ? कसरी पत्याउँ जीवित छिन् भनेर ?’
अमृत छोरीलाई समातेर धेरैबेर डाँको छोड्दै रोए ।
दार्जीलिङको सेन्ट हेलेन्स स्कुलबाट म्याट्रिक परीक्षा उत्तीर्ण गर्दा निशा सत्र वर्षकी मात्र थिइन् । भर्खर फक्रिन लागेको गुलाबको कोपिला जस्ती कलकलाउँदी, लोभलाग्दी निशालाई अमृतले आफ्नी फुपू स्वर्णिमा दीक्षितको डाउनहिलस्थित घरमा पहिलोपल्ट भेटेका थिए । अहंकार, लोभ, चिन्ता, द्वेष, विक्षोभ र पीडा केही थिएन निशाको मुहारमा ।
काठमाडौँमा पत्रकारिता विषयमा स्नातक गरिसकेका अमृत र निशाबीचको परिचय झाँगिँदै र हुर्किंदै जाँदा प्रगाढ प्रेममा परिणत भयो । समय बित्दै गयो । वर्षहरू बिते । पहिले निशाका आँखामा राखे पनि नबिझाउने अमृत उनकै आँखाको कसिंगर जस्ता भए । पचास वर्ष नाघिसकेपछि एकदिन अमृतले निर्णय गरे– ‘सधैँ पत्नी, छोरी, ससुराली र आफन्तजनका आँखामा अधुरो अपुरो मान्छे ठहरिनुको सट्टा बाँकी जीवन किन रमाएर नबाँच्ने ? किन सधैँ सम्झौता गरेर अपमान सहिरहने ? किन धनको पूजा गर्नेहरूलाई त्यागेर स्वतन्त्र विचरण गर्न नसक्ने ? मानिसले मलाई पलायनवादी भन्लान् तर अव्यक्त पीडाबाट पलायन पनि खुसीकै लागि हो ।)
आफ्ना ५–७ जोर लुगा र केही पुस्तकहरू बोकेर एकदिन घरबाट निस्केका अमृतराज सत्र–अठार वर्ष बेखबर बने । बेपत्ता भए । पति हराएपछि निशाले केही दिन ठूलो पीडामा दिनरात बिताइन । पश्चाताप, ग्लानि, प्रायश्चित र छटपटीमा बिताइन् । उनलाई रोगले आक्रमण गरिरह्यो र एकदिन पतिको तस्वीर चुम्बन गर्दागर्दै उनले प्राण त्यागिन् ।
‘जन्मेदेखि मृत्युसम्मको यात्रा हो जीवन । आशावादीहरूका लागि उल्लासमय जीवन निराशावादीहरूलाई सजाय सरह छ । अरूका लागि बाँच्न सिक्नेहरूलाई पाठशाला जस्तो छ जीवन । त्यसैले छोरी, भौतिक सुखसुविधामा होइन, परोपकारमा आनन्द लिन सिक । म यो तपोभूमिमा बसेर दुःखीजनहरूको सेवा गरिरहेको छु । एकदिन सबैले यो धर्ती, प्रियजन र सम्पत्ति त्यागेर परमात्मामा लीन हुनैपर्छ । व्यर्थको अहंकार गरेर केही फाइदा छैन । त्यसैले छोरी, म अभैm दुःखीहरूको सेवा गर्न केही वर्ष बाँच्न चाहन्छु । अभावग्रस्त र असहायहरूलाई केही मद्दत गर्न चाहन्छु ।’
बुबाको कुरा सुनेपछि वत्सलाले आँसु पुछिन् । उनले दिवंगत आमालाई सम्झिइन् र मनमनै भनिन्– ‘मम्मी, हजुरप्रति अब बुबाको कुनै गुनासो र क्रोध बाँकी छैन । बिछोड भए पनि उस्तै प्रेम र विश्वास पाएँ मैले । मम्मी, हजुरको आत्मालाई शान्ति मिलोस् ।’
झ्यालबाट आइरहेको चिसो हावाले अमृतका आँसुहरू विस्तारै सुकाइदिए । मानौँ, त्यो हावा नभएर स्वर्गीय निशाको स्पर्श र उच्छवास थियो ।