राष्ट्रपति भण्डारी सोमबार वंगलादेश जाने

भारतीय प्रधानमन्त्रीसँग पनि संक्षिप्त वार्ता हुने !

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चैत ९ र १० गते वंगलादेशको राजकीय भ्रमण गर्ने बताइएको छ । तत्कालीन पूर्वी पाकिस्तानलाई टुक्र्याएर भारतको सहायतामा सन् १९७१ मा वंगवादेश नामको छुट्टै राष्ट्र स्थापना भएको थियो । त्यसका लागि भारतले वंगलादेशी नेता शेख मुजिबुर रहमानलाई प्रयोग गरेको थियो । वंगलादेशको स्वतन्त्रताको ५० औं वार्षिकोत्सव र रहमानको १०० औं जन्मजयन्तीका अवसरमा ढाकामा आयोजना गरिने समारोहमा राष्ट्रपति भण्डारीलाई निमन्त्रणा गरिएको बताइएको छ ।
राष्ट्रपतिको भ्रमणले नेपालको कूटनीतिक दायरालाई फराकिलो बनाउन तथा दुई देशबीचको राजनीतिक, सांस्कृतिक, आर्थिक एवं जनस्तरको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन भ्रमण फलदायी हुने अपेक्षा गरिएको छ ।
समकालीन विश्वले २१ औँ शताब्दीको दुई दशक पार गरिसकेका बेला हुन लागेको यो भ्रमणको दूरगामी प्रभाव आपसी सम्बन्धमा सुमधुर बनाउनेतर्फ मात्र केन्द्रित नभई नेपालको राष्ट्रिय समृद्धिको सपना साकार पार्न सहकार्य, साझेदारी र सहयोग प्रवद्र्धनका दृष्टिले पनि महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
आपसी सम्बन्धको नवीकरण तथा पारस्परिक सहकार्य र साझेदारीका नयाँ क्षेत्रहरू पहिल्याउन उच्चस्तरीय भ्रमण अति उपयोगी हुने गरेका छन् । राष्ट्रपति भण्डारीको यो भ्रमणका क्रममा दुई देशबीच पर्यटन प्रवद्र्धन, सांस्कृतिक सहयोग आदानप्रदान, रोहनपुर–सिंहबाद ‘रेल रुट’ सञ्चालन, पशुपंक्षीसँग सम्बन्धित ‘स्यानिटरी’ र वनस्पति जगतमा रोगव्याधी फैलिन नदिने प्रावधान ‘फाइटो स्यानिटरी’ अर्थात् स्यानिटरी एन्ड फाइटो स्यानिटरी मेजर्ससहित तीनवटा बेग्लाबेग्लै समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ ।
बङ्गलादेश सरकारले नेपाललाई चटगाउँ र मोङ्ला बन्दरगाहका साथै काँकडभिट्टा–फूलबारी–बङ्गलाबन्ध सतहमार्गबाट पारवहन सुविधा उपलब्ध गराएको छ भने रोहनपुर–सिंहबादबाट मालबाहक रेल नेपालसम्म आवतजावत गर्न अतिरिक्त ‘रेल करिडोर’ प्रदान गरेसँगै कोलाकाता बन्दरगाहको विकल्पका रुपमा मोङ्ला बन्दरगाहलाई उपयोग गर्न मार्गप्रशस्त भएको छ ।
त्यस्तै वंगलादेशको स्वतन्त्रताको ५० औं वार्षिकोत्सव र रहमानको १०० औं जन्मजयन्तीका अवसरमा आयोजना गरिने समारोहमा भाग लिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, भुटानका प्रधानमन्त्री डा. लोटे छिरिङलगायतका नेताहरु त्यहाँ पुग्ने भएका छन् । त्यसबेला राष्ट्रपतिले भारतीय प्रधानमन्त्रीसँग समेत वार्ता गर्ने सम्भावना रहेको बताइएको छ । यसले नेपाल–भारत कूटनीतिमा मद्दत पुग्ने विश्वास गरिएको छ ।
माल्दिभ्सका राष्ट्रपति इव्राहिम महम्मद सोलीह, श्रीलंकाका प्रधानमन्त्री महिदा राजापाक्षेलगायतका नेताहरुसँग राष्ट्रपति भण्डारीले संक्षिप्त वार्ता गर्ने आँकलन गरिएको छ ।
सार्कका शीर्ष नेता मध्ये भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको वार्तालाई नेपालले आफ्ना कुरा राख्ने अवसरका रुपमा लिएको खण्डमा त्यसले कूटनीतिक लाभ हुने देखिन्छ ।