भारतको कोरोना भ्याक्सिन कूटनीति
काठमाडौं । झट्ट सुन्दा भ्याक्सिन र कूटनीतिबीच कुनै सम्वन्ध हुन्छ भन्ने कुरा पत्याउन सकिदैन । तर भारतले कोरोनाविरुद्धको भ्याक्सिनलाई कूटनीतिक स्वार्थको माध्यम बनाउन खोजेको देखिन्छ ।
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा स्थायी सदस्य बन्न चाहेको भारतले नेपाललगायतका मुलुकहरुलाई सुरक्षा परिषद्को सदस्य बन्न समर्थन पाउने आशामा भ्याक्सिन उपलव्ध गराएको भारतीय कूटनीति तथा राजनीतिज्ञ शशी थरुरले जनाएका छन् ।
उनले विपन्न मुलुकलाई लक्षित विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रम तत्कालै अघि बढ्ने अवस्था नभएको स्थतिमा भारतले भने ‘खोप कूटनीति’को फरक मार्ग लिएको विश्लेषण गरेका छन् । ‘खोपमैत्री’ कार्यक्रमअन्तर्गत भारतले अक्सफोर्ड–एस्ट्राजेनेकाले निर्माण गरेको कोभिसिल्ड खोपको लाखौँ डोज निर्यात गरिसकेको बताउँदै त्यस्तो खोपमार्फत भारतले अन्तर्राष्ट्रिय समर्थन जुटाउन खोजेको तर्क गरेका छन् ।
लगभग ९० देशलाई भारतले महत्वपूर्ण किट तथा अन्य उपकरण पठाएको जनाउँदै थरुरले विश्वका विभिन्न राष्ट्रको समर्थन र सहानुभूति प्राप्त गर्न त्यस्तो कूटनीति अपनाएको जनाएका छन् ।
भारतमा बनेका खोप पाकिस्तान वाहेक सबै छिमेकीले पाएका छन् । यसमा नेपाल, अफगानिस्तान, बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्स र म्यानमारले प्राप्त गरेको उनको भनाइ छ ।
यस्तै सिसेल्स, कम्बोडिया, मंगोलिया र प्रशान्त क्षेत्रका टापु, क्यारिबियन तथा अफ्रिकी मुलुकले पनि भारतीय खोप पाएको बताइएको छ । खोप कूटनीतिले बंगलादेशसँगको तनावपूर्ण बन्दै गएको भारतको सम्बन्धमा सुधार ल्याएको उनको तर्क छ भने माल्दिभ्ससँगको मैत्रीपूर्ण सम्बन्ध थप बलियो बनाएको उनले विश्लेषण गरेका छन् ।
खोप कूटनीतिमा चीन र भारतको प्रतिस्पर्धा देखिएको भन्दै शशी थरुरले विपन्न मुलुकलाई खोप पु¥याउने मामिलामा भारतको खोप वितरण चीनको भन्दा प्रभावकारी र तीव्र रहेको विश्लेषण गरेका छन् ।
भारत सरकारले आफ्ना जनतालाई दिएकोभन्दा तीन गुणा खोपको डोज निर्यात गरेकोमा देशभित्र आलोचना भइरहेको छ । त्यहाँका विभिन्न सञ्चारमाध्यमहरुले आफ्नै जनतालाई उपेक्षा गरेर खोप कूटनीति गरेको भन्दै सरकारको आलोचना गरेका छन् ।
विश्वशक्ति बन्ने भारतको चाहनामा खोप कूटनीतिले महत्वपूर्ण सहयोग पु¥याएको छ । भविष्यमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को स्थायी सदस्यको संख्यामा पुनर्संरचना हुने भयो भने धेरै देशले प्राणघातक भाइरसले विध्वंस मच्चाएको वेला सबैभन्दा बढी सहयोग गर्ने देशलाई अवश्य सम्झने छन् भन्दै संयुक्त राष्ट्रसंघका पूर्वउपमहासचिव तथा भारतीय राष्ट्रिय कंग्रेसका तर्फबाट भारतीय लोकसभाका सांसद समेत रहेका थरुरले विश्लेषण गरेका छन् ।