५६ औं अन्तर्राष्ट्रिय जातीय उन्मूलन दिवस गुल्मीमा पनि मनाइयो

५६ औं अन्तर्राष्ट्रिय जातीय उन्मूलन दिवस गुल्मीमा पनि मनाइएको छ । दलित महिला संघ गुल्मीको आयोजनामा सदरमुकाम तम्घासको एभरग्रिन पार्टी प्यालेसमा अन्तरक्रिया गरि यो दिवस मनाईएको हो । दिवसको अवसरमा ‘जातीयवाद विरुद्ध युवा, जातीय हिंसा र छुवाछूत विरुद्ध हामी’ भन्ने नाराका साथ आयोजना गरिएको अन्तरक्रियामा दलित साझा मञ्चका अध्यक्ष गणेश विश्वकर्माले जातीय उत्पीडनका घटनाहरूको न्युनिकरणमा लागि दलित समुदाय एकताबद्ध हुनुपर्ने बताउनुभयो ।

संवैधानिक रुपमा जातीय विभेदको अन्त्य भए पनि व्यवहारिक रूपमा अन्त्य हुन नसकिरहेको उल्लेख गर्दै विश्वकर्माले जातीय भेदभाव विरुद्धको ऐन, कानुनलाई कडाइका साथ लागू गर्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘दया, माया नदेखाई, ऐन, कानुनलाई कडाइका साथ लागू गर्न आवश्यक रहेको छ ।’ विश्वकर्माले राज्यले दलित समुदायले ठुलो बलिदानी र आन्देलन मार्फत प्राप्त गरेका अधिकारहरु कटौती गर्दै गएको बताउनुभएको छ ।

केही समयका लागि राज्यले उपलब्ध गराएको आरक्षण माथि पछिल्लो समय प्रहार हुँदै आएको उल्लेख गर्दै भन्नुभयो, ‘आरक्षण केही समयका लागि हो । अहिल्यै आत्तिने बेला आएको छैन् । यो प्रहारका विरूद्व लड्न आवश्यक छ ।’ दलित समुदायका पेशा व्यवसायलाई आधुनिकरण र व्यवसायिकरण गरि उनीहरुलाई आर्थिक रूपमा सबल बनाउने कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको औल्याउँदै सहकारिको माध्यमबाट अगाडि बढ्नुपर्ने बताउनुभयो । दलित आन्दोलन राजनितिमा गएर टाँसिएको उल्लेख गर्दै त्यस भन्दा माथि उठेर बोल्न आवश्यक रहेको बताउनुभयो ।

दलित साझा मञ्चका उपाध्यक्ष रोम विश्वकर्माले जातीय उत्पीडनका घटनाहरु अहिले पनि घटिरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,‘जातीय विभेदको प्रकृति बद्लिएको हो । भोगाई बद्लिएको छैन् ।’ उहाँले धार्मिक, संस्कारगत त्रुटिको अन्त्य हुन नसकिरहेको बताउनुभयो । बौद्धिक व्यक्तित्व विश्वकर्माले भन्नुभयो, ‘हामी जति पढेलेखेका भए पनि मान्छेको दर्जाको रुपमा हेरीदैन् । दलितलाई बाहेस गर्दा धार्मिक संस्कारहरु मेटिदैछन् । धार्मिकताको हिंसा हुने खतरा बढेको छ ।’ दलितको नयाँ पुस्ताले जातीय उत्पीडन सहन गर्न नसक्ने बताउँदै विश्वकर्माले भन्नुभयो,‘नयाँ पिँढि एटम बम बन्नेवाला छन् । आन्दोलनको ठुलो आँधीबेरी आउँछ । दलितले मान्छे भएर बाँच्न नपाउने दोष के छ ?’

दलित अधिकारकर्मी एवम काँग्रेस नेता झविन्द्र विश्वकर्माले दलितलाई राज्यले उपेक्षा गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘राज्यले यो वा त्यो वहानामा विभेद गरिरहेको छ ।’ नेपाल सरकारले अन्तर्राष्ट्रिय महासन्धिमा जातीय विभेदका विरुद्ध हस्ताक्षर गरेको भएपनि यसतर्फ ध्यान नदिएको बताउनुभयो ।

सुशासन अभियानका सचिव विनोद पाण्डेले जातीय विभेद साझा समस्या भएको बताउनुभयो । यसलाई निर्मूल पार्न दलित र गैरदलित दुवै मिलेर मात्र सम्भव भएको बताउनुभयो । सरकारले कानुन बनाएर जातीय विभेदलाई निषेध गरेकाले यसको कार्यान्वयनलाई प्रभावकारी बताउनुपर्ने पाण्डेको सुझाव छ । समाज परिवर्तन गर्ने खालका जागरणका कार्यक्रमलाई बढाउनुपर्ने उहाँको भनाई छ ।

दलित महिला संघ अध्यक्ष कमला बरालको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन विष्णु विश्वकर्माले गर्नुभएको थियो । अन्तरक्रियामा दलित जनप्रतिनिधिहरु, दलित अधिकारकर्मीहरु लगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।