प्रधानमन्त्री ओलीमा नैतिकताको खडेरी : खाँड
बुटवल । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले नयाँ सरकारका विषयमा पार्टी लामो समय मौन बस्न नहुने बताएका छन् । बुटवलमा राज्य टेलिभिजनले गरेको कार्यक्रममा बोल्दै नेता खाँडले संविधान रक्षा गर्न कोसंग हातेमालो गर्ने, कोसंग संघर्ष गर्ने भन्ने निर्क्यौल पार्टीले चाँडै निकाल्ने पर्ने बताएका छन् ।
मुलुकको पछिल्लो राजनीतिक अवस्था जनताले चाहे भन्दा धेरै पृथक भएकाले जनतामा ठूलो निराशा र विद्रोह हुनसक्ने तर्क गर्दै नेता खाँडले कांग्रेसले समयमै निकास दिनु पर्ने बताएका छन् ।
केपी ओली नेतृत्वको सरकार विस्थापन गरी नयाँ सरकारको नेतृत्व गर्न नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसलाई आग्रह गरे पनि कांग्रेसले यस विषयमा निर्णय गर्न नसकेका बेला नेता खाँडले वर्तमान सरकारले संविधानमाथि प्रहार गरिरहेको भन्दै संविधानको रक्षा र पालना गर्ने दलहरुसंग सहकार्य गर्ने बताएका छन् ।
वर्तमान सरकार बनेकै दिनदेखि संविधान, लोकतन्त्र, प्रेस स्वतन्त्रता र मानव अधिकारमाथि प्रहार सुरु भएको भन्दै नेता खाँडले आफैंले विघटन गरेको संसद सर्वोच्चले पुनःस्थापना गरेपछि प्रधानमन्त्रीले राजीनामा नदिनुले उनीमाथि नैतिकताको खडेरी देखिएको बताएका छन् ।