गुल्मीमा खानेपानीको अवस्था बुझन तथ्यांक संकलन गरिने

जिल्लामा खानेपानीको अवस्था बुझ्न तथ्याङ्क संकलन गरिने भएको छ । जिल्लामा रहेका खानेपानीको सबै संरचनाको तथ्याङ्क संकलन गरिने भएको हो। ल्–ध्ब्क्ज् ( एन–वास ) मोबाइल एप्लिकेसन मार्फत तथ्याङ्क संकलन गरि स्थानीय खानेपानी सरसफाइ तथा स्वच्छता योजना निर्माणका लागि बिहिबार जिल्ला समन्वय समितिको सभाहलमा जिल्ला स्तरीय कार्यशाला गोष्ठी गरिएको थियो ।
भौतिक पूर्वाधार विकास मन्त्रालय बुटवलको आयोजना, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गुल्मी र खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ जिल्ला शाखा गुल्मीको समन्वयमा जिल्ला समन्वय कार्यशाला गोष्ठी गरिएको जिल्ला वास संयोजक रविन्द्र पराजुलीले जानकारी दिनुभयो । जिल्लाका स्थानीय तहमा गणक गई त्यहाँको खानेपानीको अवस्थाबारे बुझेर वास्ताविक तथ्याङ्क लिने उदेश्य रहेको पराजुलीले जानकारी दिनुभयो । जिल्लामा रहेका खानेपानीको अवस्था बुझन तथा तथ्याङ्क संकलन गर्न २३ जना गणक खटाइएको छ ।
उनीहरुले जिल्लामा रहेका खानेपानीका सबै संरचनाको अवस्थाबारे तथ्याङ्क संकलन गर्ने छन् । त्यस अवसरमा जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीले कुनै पनि योजना राम्रो बनाउन तथ्याङ्क सही आवश्यक पर्ने बताउनुभयो । जिल्लामा खानेपानीको वास्तविक तथ्याङ्क बुझन गणकको महत्वपूर्ण भूमिका रहने उहाँको भनाई थियो । जिल्लामा खानेपानीको समस्या रहेकाले यसको अन्त्यका लागि सही तथ्याङ्कको आवश्यक पर्ने भएकाले गणकको महत्वपूर्ण भूमिका रहने पराजुलीले बताउनुभयो ।
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका केन्द्रीय सदस्य राममल्ल ठकुरीले स्थानीय सरकारले खानेपानीको संरक्षण गर्नुपर्ने बताउनुभयो । वास कार्यक्रम मार्फत जिल्लामा खानेपानी अवस्थाका बारेमा बुझ्न सहज हुने बताउनुभयो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गुल्मीका प्रमुख अनोज उपाध्यायले जिल्लाको खानेपानीको अवस्थाबारे कार्यक्रममा जानकारी गराउनुभएको थियो । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ जिल्ला अध्यक्ष विष्णु पौडेलको अध्यक्षतामा कार्यशाला गोष्ठी सम्पन्न भएको थियो ।