नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन् । बालुवाटारमा आज आयोजित चिनियाँ खोप हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले दुई मुलुकबीचको सम्बन्ध एक कदम अगाडि बढेको बताएका हुन् ।
कोभिडविरुद्धको लडाइमा नेपाल र चीनका नीति समान रहेको बताउँदै प्रधानमन्त्री ओलीले चीनबाट प्राप्त आठ लाख डोज खोपले नेपालको खोप कार्यक्रमलाई अगाडि बढाउने ठूलो मद्दत पुगेको बताए ।
प्रधानमन्त्रीले खोपका लागि चीन सरकारलाई धन्यवाद समेत दिएका न् । प्राकृतिक विपत्तिमा दुबै मुलुक मिलेर अगाडि बढ्नुपर्ने उनले बताएका छन् ।
खोपको औपचारिक हस्तान्तरण कार्यक्रममा चिनियाँ राजदूत होउ यान्छी र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली समेत उपस्थित थिए । चिनियाँ राजदूत यान्छीले नेपालको विकासमा मित्रराष्ट्र चीन सँधै उभिने बताउँदै चीनको पञ्चवर्षिय योजनामा मित्रराष्ट्रको हित पनि समावेश भएको बताइन् ।
चीनले सिनोफार्मले विकास गरेको ८ लाख डोज भेरोसेल नेपाललाई उपलब्ध गराएको हो । सो खोप नेपाल वायुसेवा निगमको जहाजले आज काठमाडौं ल्याएको थियो ।