माधव नेपाल र भीम रावल एमालेबाट ६ महिनाका लागि निलम्बन

क्रान्तिकारी नेपाल कम्युनिष्ट पार्टी बनाउन कार्यकर्तालाई नेता नेपालको आव्हान !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले नेता माधवकुमार नेपाल र भीमबहादुर रावललाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेको छ भने सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई तत्काल स्पष्टिकरण दिन निर्देशन दिने निर्णय गरेको छ । पार्टी हितविपरित गतिविधि जारी राखेकाले उनीहरुलाई निलम्बन गर्ने निर्णय गर्न पार्टी वाध्य भएको अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकट स्रोतले जनाएको छ ।
पार्टीले गुटगत भेला तथा बैठक नगर्न चेतावनी स्वरुपको उर्दी गरेपनि नेपाल पक्षका नेताले गुटगत भेला, बैठक र समानान्तर कमिटी गठन गर्न नछाडे र यसलाई आगामी दिनमा पनि निरन्तरता दिन अग्रसर देखिएकाले पार्टी विधानको धारा ४९ (ख) बमोजित ६ महिनाका लागि निलम्बन गरिएको बताइएको छ ।
चैत ७ गते बसेको केन्द्रीय कमिटी बैठकले पार्टी हित विपरीत गुटगत भेला गरेकोलगायतका आरोप लगाएर नेताहरु नेपाल, रावल, भुसाल र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । त्यस अनुसार महासचिव ईश्वर पोखरेलले उनीहरुलाई स्पष्टीकरण पत्र पठाएका थिए ।
चैत १२ गते त्यसको जवाफ दिएका नेता नेपाल र रावलले गल्ती स्वीकार गर्नुका साटो उल्टै अध्यक्ष ओलीमाथि विभिन्न आरोप लगाउँदै कारवाहीको चेतावनी दिएका थिए भने नेताहरु भुषाल र पाण्डेले स्पष्टिकरण नै दिएका छ्रैनन् । उनीहरुलाई अविलम्व स्पष्टिकरणको जवाफ दिन पुनः पत्र पठाउने निर्णय भएको बताइएको छ ।
निलम्बनको अवधिमा पनि नसच्चिए थप कडा कारबाही गर्ने बताइएको छ ।
यसैवीच अध्यक्ष ओलीको तानाशाहीविरुद्ध जुध्न नेता नेपालले आफू पक्षका नेता, कार्यकर्तालाई आव्हान गरेका छन् । पार्टीले ६ महिना पार्टी सदस्यताबाटै निलम्बन गर्ने निर्णय गरेपछि प्रतिक्रिया दिँदै नेता नेपालले ओलीको निर्णय चरम असहिष्णु भएको बताएका छन् । ओलीको निर्णय तानाशाही भएको भन्दै उनले त्यसको विरुद्धमा जुध्न र क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणमा लाग्न कार्यकर्तालाई आह्वान गरेका छन् ।
ओलीको कदमको कुनै अर्थ नभएको वताउँदै उनले कार्यकर्तालाई उच्च मनोवलका साथ ओलीको तानाशाही प्रवृत्ति विरुद्धमा जुध्नका लागि र क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण गर्न आव्हान गरेका छन् ।
यसैवीच पार्टीबाट निलम्वनको सूचना पाएपछि नेता नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट वार्ता गरेका छन् । कोटेश्वरस्थित एक व्यापारीको घरमा भएको भेटमा सर्वोच्च अदालतको २३ फागुनको फैसला पुनरावलोकन, ओलीविरुद्ध कसरी लड्नेलगायतका विषयमा कुराकानी भएको स्रोतको दावी छ ।
माओवादी केन्द्रले पार्टीको नाम परिवर्तन गर्ने सो पार्टीका नेताहरुले बताइरहेका छन् भने पार्टीका कमिटीहरुलाई पनि पूर्णता दिएका छैनन् । माओवादी केन्द्रले माधव नेपाल समूह आफ्नो पार्टीमा आउन सक्ने आँकलन सहित त्यस्ता पदहरु खाली राखेका छन् । त्यस्तै भावी रणनीतिबारे पनि निर्णय नगरी केन्द्रीय कमिटी वैठक स्थगित गरेका छन् ।
नेता नेपालले कार्यकर्तालाई ‘क्रान्तिकारी कम्युनिष्ट पार्टी’ निर्माण गर्न आव्हान गरेकाले उनले सोही नामको नयाँ पार्टी बनाउने वा माओवादी केन्द्रको नाम परिवर्तन गरेर सो नाम राख्ने तयारी त भइरहेको छैन भन्ने आशंकाहरु उब्जिएका छन् ।