एमाले फुटको संघारमा, छुट्टै कार्यालय खोल्ने तयारीमा नेपाल समूह

काठमाडौं । सर्वोच्च अदालतको २३ फागुनको फैसला पछि एमालेमा फर्किन वाध्य भएको माधव नेपाल–झलनाथ खनाल पूर्णरुपले पार्टीमा प्रवेश गर्न सकेको छैन । संसदीय दलको वैठकमा उनी पक्षका अधिकांस सांसद गएपनि नेता नेपाल र भीम रावल गएनन् ।
नेपाल–खनाल समूहले पार्टीमा छुट्टै गतिविधि गर्दै आएको छ । पार्टीका हरेक तहमा समानान्तर कमिटी बनाएर अघि बढेको सो समूहलले छुट्टै कार्यालय खोल्ने तयारी पनि गरिरहेको छ । यसका लागि भवनको खोजी भइरहेको नेता नेपालले नै बताएका छन् ।
आज उनी निकट युवा संघ नेपालको कार्यालय उद्घाटन गर्दै नेता नेपालले राम्रो र कार्यालय राख्न सुहाउँदो घर पाए खबर गर्न कार्यकर्तालाई आग्रह समेत गरेका छन् ।
पार्टीहित विपरित काम गरेको भन्दै अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाल, रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टिकरण सोधेका थिए । उनीहरुको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै ओलीले नेताहरु नेपाल र रावललाई ६ महिनाका लागि पार्टी सदस्यबाट हटाएका छन् भने भुसाल र पाण्डेका बारेमा अब बस्ने वैठकले निर्णय गर्ने बताइएको छ ।
नेपाल समूहले सर्वोच्चको फैसलाअनुसार २ जेठ २०७५ को कमिटी र नेतृत्व स्वीकार गर्नुपर्ने बताएको छ भने अध्यक्ष ओलीले भने साविक नेकपा विभाजनका बेला आफ्नो समूहले बनाएको कमिटीहरुलाई नै निरन्तरता दिएका छन् । उनले माओवादीबाट आएका नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित गर्नुका साथै विभिन्न जिम्मेवार दिइसकेका छन् । त्यसबाट उनी पछि हट्ने संकेत देखिएको छैन । जसले गर्दा एमाले लगभग विभाजन भइसकेको छ, घोषणा मात्र बाँकी छ । अब नेता नेपालले कार्यालय खोलेपछि विभाजनको घोषणा पनि हुन सक्ने आँकलन गर्न थालिएको छ ।