कोरोना संक्रमण बढ्दै, भिडभाडजन्य गतिविधि रोक्ने तयारी

काठमाडौं । नेपालमा फेरि कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा थप १६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ३ हजार ९१९ जनाको नमुना परीक्षण गर्दा कुल १६२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कुल संक्रमित संख्या २ लाख ७७ हजार ३०९ जना पुगेको छ । उनीहरु मध्ये २ लाख ७२ हजार ७८६ जना संक्रमणमुक्त भएका छन् भने कुल ३०३० जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको भन्दै सबैखाले भिडभाडजन्य गतिविधि रोक्न जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ।
बुधबार मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्राडा जागेश्वर गौतमले भिडभाड हुने सबै गतिविधि बन्द गर्न प्रमुख जिल्ला अधिकारीहरुसँग आग्रह गरेको बताएका छन् ।
संक्रामक रोग ऐन अनुसार प्रमुख जिल्ला अधिकारीलाई सबै प्रकारका भिडभाड रोक्न मन्त्रालयले आग्रह गरेको प्रवक्ता गौतमले बताएका छन् ।
नेपालमा पछिल्लो समय पुनः कोरोना संक्रमण बढ्दै गएको भन्दै सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ।