गुल्मीमा नेपाली पोशाकको सीपमूलक सिलाई तालिम शुरु
चैत १९ ,गुल्मी ः जिल्लामा नेपाली पोशाकको सीपमूलक सिलाई तालिम शुरु गरिएको छ। घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजनामा भगत सर्वजित शील्प व्यवसाय सीप विकास तथा प्रवर्द्धन कार्यक्रम अन्र्तगत नेपाल पोशाक सिलाई तालिम शुरु गरिएको हो। ‘स्वदेशमै श्रम, स्वदेशमै पसिना’ भन्ने नाराका साथ नेपाल पोशाकहरु विद्यालयको पोशाक, गुन्यू, चोली, जातीय पोशाक तथा नेपाली दौरा सुरूवालहरुको सीपमूलक सिलाई तालिमको शुभारम्भ गरिएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीले सहभागीहरुलाई तालिमबाट प्राप्त हुने ज्ञान सीपलाई व्यवहारमा लागू गरि व्यवसायिकमूखी बन्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,‘तालिम केबल तालिमका लागि मात्रै गराउनु हुँदैन् । सीप जहाँ जाँदा पनि लान सकिन्छ । सीप भनेको व्यक्तिगत निजि सम्पत्ती हो ।’
सोही पक्षलाई ध्यानमा राखेर तालिममा तत्परता देखाउन आग्रह गर्नुभयो । महिलाहरु आर्थिक रुपमा आत्मनिर्भर बन्न सके महिला शशत्तिकरणमा पनि सहयोग पुर्याउने बताउनुभयो । उहाँले भन्नुभयो,‘महिलाहरु आफैँ आत्मनिर्भर बन्न सके अरुबाट हेपिनु पर्दैन् ।’ नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसाल तथा लघु उद्यम अधिकृत सुवास घिमिरेले तालिमको सही सदुपयोग गर्न आग्रह गर्नुभयो ।
कार्यालय प्रमुख लक्ष्मण घिमिरेले तालिममा १५ जना दलित समुदायका महिलाहरु सहभागी रहेको जानकारी दिनुभयो । यस तालिमका लागि प्रदेश सरकारले रु १९ लाख रुपैयाँ बजेट खर्च गर्ने बताउनुभयो । तालिम सिकेपछी उनीहरुलाई प्रविधि हस्तान्तरण गरिनेछ । उनीहरुका लागि सिलाई मेसिन समेत उपलब्ध गराइने घिमिरेले जानकारी दिनुभयो । सिटिभिटिद्वारा सहभागीहरुको सीप परिक्षण गरिनेछ । यसबाट दलित महिलाहरुको आर्थिक रुपमा शशत्तीकरणका लागि मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ ।