भुसाल र पाण्डे पनि ६ महिनाका लागि एमालेबाट निलम्बित
अन्य दलसँग सहकार्य गरेर ओलीलाई एक्ल्याउने नेता नेपालको चेतावनी
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेका छन् ।
अध्यक्ष ओलीले यसअघि पार्टीका नेताहरु माधवकुमार नेपाल र भीम रावललाई पनि त्यस्तै कारवाही गरेका थिए ।
पार्टीहित विरुद्ध गतिविधि गरेको भन्दै उनीहरुलाई स्पष्टीकरण सोधिएको थियो । उनीहरुले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै चारैजना नेतालाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेको एमालेले जनाएको छ। निलम्वनको अवधिमा पनि उनीहरुले पार्टीहित विपरितका गतिविधि कायम राखे थप कडा कारवाही गर्ने चेतावनी पनि दिइएको छ ।
यसैवीच नेपाल–खनाल पक्षको स्थायी समिति बैठक शुक्रबार बस्ने भएको छ । कलंकीस्थित मेघा पार्टी प्यालेसमा शुक्रबार बिहान ११ बजे स्थायी समितिको अनौपचारिक बैठक बस्ने बताइएको छ ।
पार्टीभित्रको विवाद, समसामयिक राजनीतिक गतिविधि लगायतका विषयमा छलफल हुने बताइएको छ।
पार्टीमा नेपाल–खनाल पक्षले समानान्तर पार्टीको अभ्यास गर्दै आएको छ । केही जनवर्गीय संगठन र केही जिल्लामा पार्टीका समानान्तर कमिटी बनाएको सो समूहले विभिन्न संगठनका कार्यालयहरु समेत खोली सकेको छ । अब पार्टी कार्यालय नै खोल्ने तयारीमा सो समूह लागेको छ । नेता नेपालले अब देशभर कमिटीहरु विस्तार गर्ने बताएका छन् । आज कास्की जिल्लामा बनेको समानान्तर कमिटीलाई सम्वोधन गर्दै नेता नेपालले आफूहरु केन्द्रमा पनि समानान्तर कमिटी बनाएर अगाडि बढ्ने तयारीमा रहेको बताएका छन् । उनले आफूहरुसँग ६ लाख कार्यकर्ता रहेको बताउँदै अन्य दलसँग सहकार्य गर्दै ओलीलाई एक्ल्याएर अगाडि बढ्ने चेतावनी पनि दिएका छन् ।