न्युरोडमा खुकुरी देखाएर दिउँसै लुटपाट
काठमाडौं । काठमाडौंको न्युरोडस्थित खिचापोखरीमा दिनदहाडै खुकुरी देखाएर लुटपाट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेकोछ ।
बुधवार दिउँसो खिचापोखरीस्थित हेम मल्ल र गोरख चन्दले संचालन गरेको आईएमई रेमिट्यान्समा लुटपाट भएको थियो । लुटमा संलग्न ४ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले केही घण्टामै पक्राउ गरेर सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा दाङ घर भएका २१ वर्षीय तिलक राउत, १८ वर्षीय दिपुन श्रेष्ठ, कालीकोट घर भएका १८ बर्षिय उमेश केसी र ललितपुर बस्ने नविन केसी छन् । तिलक र दिपुन नयाँ बानेश्वर स्थित दक्षिणकाली होस्टलमा बस्छन् ।
मध्यान्ह साढे ३ बजे आईएमईमा छिरेर उनीहरुले लुटेका हुन् । प्रहरीले उनीहरुको साथबाट ५९ हजार ७ सय नगद बरामद गरेको छ । लुटेको १ लाख रुपैयाँ तिलकले दाङ जाने बसमा बुवालाई पठाएको प्रहरीलाई जनाएको छ । आइएमई संचालकले ६ लाख लुटेको दाबी गरेका छन् ।
लुटेको पैसाले उनीहरुले २५ हजार बराबरको सपिङ गरेको अनुसन्धानबाट थाहा भएको छ । आईएमई लुट्नेहरू लागु औषध प्रयोगकर्ता हुन् । लुटेको रकमबाट ७५ हजार लागुऔषध किन्न एउटी महिलालाई दिएको अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ ।