ती केपीको सपना यी केपीको पालामा पूरा

मेलम्चीको साढे आठ करोड लिटर पानी उपत्यकाका धारामा

काठमाडौँ । आजबाट मेलम्चीको पानी औपचारिक रुपमा काठमाडौंवासीका धारामा वितरण शुरु गरिएको छ ।
खानेपानी मन्त्रालयले भृकुटमण्डपमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले तीन ढुङ्गेधाराबाट पानी खोली शुभारम्भ गर्नुभएको छ ।
सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपत्यकामा पानीको स्रोत प्रदुषित भएका बेला मेलम्चीको पानी वितरण भएपछि स्वच्छ खानेपानीको सेवा उपलब्ध भएको बताउनुभएको छ ।
मेलम्चीको पानीले जमिनमुनिको पानी कम दोहन गर्नसमेत सहयोग मिलेको उहाँले बताउनुभयो ।
मेलम्चीबाट आउने स्वच्छ पानीले उपत्यकावासीमा राहत मिलेको उल्लेख गर्नुहुँदै राष्ट्रपति भण्डारीले पानीका स्रोत संरक्षणसँगै वायु प्रदुषण कम गर्न सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
“प्रधानमन्त्री भएका बेला कृष्णप्रसाद भट्टराईले सार्वजनिक प्रतिबद्धता जाहेर गर्नुभएपछि चर्चामा आएको मेलम्ची खानेपानी आयोजना वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा सम्पन्न भएको छ, पानी र जीवनबीच अभिन्न सम्बन्ध रहेकाले पहिलो चरणको मेलम्ची सम्पन्न हुँदा उपत्यकावासीलाई केही राहत भएको छ, दोस्रो चरणको काम पनि यथासम्भव छिटो सम्पन्न हुनुपर्छ”, उहाँले भन्नुभयो ।
केही जनसङ्ख्या स्वच्छ खानेपानीको सेवाबाट अझै बञ्चित रहेकाले त्यसको व्यवस्थापनमा पनि सरोकार भएका निकायको ध्यान जानुपर्ने राष्ट्रपति भण्डारीको भनाइ थियो ।
पानीका विषयमा आवश्यक अध्ययन अनुसन्धान गर्न त्रिभुवन विश्वविद्यालयलगायत शैक्षिक संस्थालाई प्रोत्साहन गरिनुपर्ने राष्ट्रपति भण्डारीले बताउनुभयो ।

सो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले उपभोक्ताका धारामा पानी नआइकन शुल्क र जरिवाना तिर्नुपर्ने प्रणालीमा सुधार गर्न सरोकार भएका निकायलाई निर्देशन दिनुभएको छ ।
सरकारको ध्यान देश र जनताप्रति गएको उल्लेख गर्नुहुँदै उहाँले विकास निर्माणका लागि लगानी एवं प्रविधि भित्र्याउने प्रतिबद्धता जनाउनुभयो ।
संसद् तानातानको थलो बनेको भन्नुहुँदै उहाँले देश र जनता एवं विकास निर्माणका बारेमा सोच्नेतर्फ संसद्को ध्यान जानुपर्ने बताउनुभयो । सरकारलाई अहिले पनि काम गर्न नदिइएको प्रधामन्त्री ओलीको गुनासो थियो ।
यसकाबीच भूकम्पपछिको पुनःनिर्माणलगायत विकास निर्माणका काम भएकैले खुशी हुने मुलुकको सूचीमा नेपाल अघि आएको उहाँले सुनाउनुभयो ।
विसं २०८१ को शुरुमै याङ्री र लार्केको पानी पनि काठमाडौँ ल्याउने गरी काम गर्न उहाँले खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिलाई निर्देशन दिनुभयो । दुई नदीको पानी पहरा फोरेर अहिलेकै सुरुङमा मिसाएर राजधानी ल्याउने योजना छ । यी दुई नदीको पानी पनि काठमाडौँ आएपछि दैनिक ५१ करोड लिटर पानी राजधानीमा वितरण गरिने छ ।
त्यस्तै बिरामी भएका कारण भिडियो सन्देशका माध्यमबाट धारणा राख्नुहुँदै खानेपानी मन्त्री मणिचन्द्र थापाले संविधानसभाबाट जारी भएको संविधानमा खानेपानी र सरसफाइलाई मौलिक हकका रुपमा राखिएदेखि नै सरकारले मेलम्ची आयोजनालाई छिटो सम्पन्न गर्न लागिपरेको बताउनुभयो । पुरानो पानी वितरण प्रणालीबाट दिइएको मेलम्चीको पानी केही समयपछि नै नयाँ प्रणालीबाट पठाइने प्रतिबद्धता उहाँको छ ।
“मेलम्चीको पानी उपत्यकावासीका धारामा पठाउन पाउँदा मैले पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई सम्झिरहेको छु, सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीवासीप्रति पनि मन्त्रालय आभारी छ, आयोजना सम्पन्न गर्न विदेशी दाता, परामर्शदाता, निर्माण व्यवसायीको पनि योगदान छ”–मन्त्री थापाले भन्नुभयो ।
मन्त्रालयका सचिव माधव बेल्वासेले पानी वितरण प्रणालीमा आउन सक्ने समस्याका बारेमा उपभोक्ताका गुनासो सुनेर सम्बोधन गर्ने गरी व्यवस्था मिलाइएको बताउनुभयो । मेलम्चीको पानी स्वचालित प्रणालीबाट वितरण गरिने उल्लेख गर्नुहुँदै उहाँले दोस्रो चरणको कामको तयारी पनि भइसकेको बताउनुभयो ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकावासीका धेरै घरमा खानेपानी नआए पनि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले शुल्क र जरिवाना लिइरहेकोमा आपत्ति जनाउनुभयो । “लिमिटेडको बोर्ड बैठकमा पनि पटक–पटक पानी नआउने क्षेत्रलाई सुक्खा क्षेत्र घोषणा गरी शुल्क र जरिवाना लिनुहुन्न भनी प्रस्ताव राखेको छु, अझै कार्यान्वयन भएन, यसमा प्रधानमन्त्रीज्यूबाट विशेष निर्देशन होस्”– लिमिटेड बोर्ड सदस्यसमेत रहनुभएका उहाँले भन्नुभयो ।
मासिक रु १५० शुल्कले कर्मचारीलाई तलब खुवाउन पनि नपुग्ने भएकाले आवश्यक सहयोग गर्न उपत्यका नगरपालिका फोरम तयार रहेको नगर प्रमुख शाक्यको भनाइ थियो । महानगरले सडक बनाएपछि खानेपानीले भत्काएर पाइप बिच्छ्याउने गरेकामा यस्तो प्रवृत्ति बन्द गर्न पनि उहाँले ध्यानाकर्षण गराउनुभयो ।
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले नयाँ जडान भएका एक लाख १० हजार धारामध्ये ८० हजार धारामा पानी वितरण शुरु भएको बताउनुभयो । धाराबाट थापेर विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसारको पानी पिउन सकिने उहाँले बताउनुभयो ।

यही चैत १५ गतेदेखि उपत्यकाका केही भागमा पुरानो प्रणालीअनुसार चार करोड लिटर पानी हालेर परीक्षण शुरु गरिएको थियो । परीक्षण सफल भएपछि आजदेखि साढे आठ करोड लिटर पानी परीक्षण सफल भएको क्षेत्रमा वितरण गरिएको हो । पानी वितरण गर्न उपत्यकामा नौ पोखरी निर्माण सम्पन्न भएका छन् । एक पोखरी हाल निर्माण भइरहेको छ ।
गत फागुन १० गते सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं। १ अम्बाथानस्थित सुरुङबाट हालिएको पानी २६।५ किमी दूरी पार गर्दै फागुन २२ गते सुन्दरीजल आइपुगेको थियो । पहिलो चरणमा सुरुङमा प्रतिसेकेण्ड २६० लिटर पानी हालेर परीक्षण गरिएको थियो । महाशिवरात्रिका अवसरमा दुई दिन मेलम्चीको पानी वाग्मतीमा बगाएर पशुपतिनाथ दर्शन गर्न आउने भक्तजनलाई स्नान गर्ने अवसरसमेत दिइएको थियो ।
मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी राजधानी ल्याइने भए पनि परीक्षणका क्रममा रहेकाले आजदेखि साढे आठ करोड लिटर पानी वितरण गरिएको छ । केही दिनमा १७ करोड लिटर नै पानी वितरण गरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
दोस्रो चरणमा याङ्री र लार्केको १७ करोड लिटर पानीसमेत राजधानी ल्याइने योजना छ । दोस्रो चरणको कामसमेत शुरु भइसकेको आयोजनाले जनाएको छ ।