एमालेको माधव–खनाल समूहको भोलि अभियान घोषणा गर्ने
काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूहले संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी अभियान शुरु गर्ने भएको छ । हालै आयोजित राष्ट्रिय कार्यकर्ता भेलाबाट पारित भएको ‘राजनीतिक प्रतिवेदन’लाई कार्यकर्तामाझ लैजाने भोलिदेखि अभियान शुरु गर्ने बताइएको छ ।
नेपाल–खनाल समूहका स्थायी कमिटी सदस्यहरुको आज बसेको बैठकले चैत ४ र ५ गतेको राष्ट्रिय कार्यकर्ता भेलाको निष्कर्षअनुसार ‘संगठन विस्तार तथा सुदृढीकरण अभियान’लाई अगाडि बढाउने निर्णय गरेको बताइएको छ ।
सो समूहले राष्ट्रव्यापी संगठन निर्माण, प्रशिक्षण अभियान शुरु गर्ने बताइएको छ ।
बैठकले पार्टी उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाहीको विरोध गरेको छ । कारबाही पार्टीको नवौं महाधिवेशनबाट पारित विधान विपरीत र पूर्वाग्रही भएको भन्दै अध्यक्ष केपी ओली एमालेलाई विभाजित गर्न उद्यत भएको निष्कर्ष निकालेकोछ ।
अध्यक्ष ओलीले बिहीबार नेताद्वय भुसाल र पाण्डेलाई पार्टी सदस्यबाट ६ महिना निलम्बन गर्ने निर्णय गरेका थिए भने चैत १६ गते वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पनि यही कारबाही गरेका थिए ।
नेपाल समूहले पार्टी एकता रक्षा गर्न र यसको पक्षमा जनमत निर्माण गर्न देशभरका कार्यकर्तालाई अपील गरेको छ । त्यस्तै एमाले पुनर्जिवित गर्ने सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न पार्टी अध्यक्ष ओलीलाई आग्रह गरेको छ ।