जनजीवन ठप्प हुन नदिन कोरोनाप्रति सतर्कता आवश्यक : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ संक्रमणको जोखिम बढेको भन्दै सावधानी अपनाउन आग्रह गरेका छन् ।
नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतमा कोभिड संक्रमण दर बढ्दै गएको र खुला सिमानाका कारण नेपालमा पनि जोखिम बढेकोले सचेत हुनुपर्ने बताएका छन् । जनजीवन ठप्प पार्नुपर्ने स्थिति आउन सक्ने भएकाले सबैले सचेत भई सावधानीका उपायहरु अपनाउनुपर्ने प्रधानमन्त्री ओलीले बताएका छन् ।
भौतिक दूरी कायम गर्ने, मास्क लगाउने र हातमुख धुने लगायतका काम गर्दा कोभिड संक्रमणबाट जोगिन सकिने बताउँदै प्रम ओलीले भने, ‘कोभिड १९ को सन्दर्भमा म भन्न चाहन्छु। हाम्रो जनजीवनलाई ठप्प पनि नगरौं तर बाध्य भएरै ठप्प पार्न पर्ने स्थिति आउन सक्छ यदि हामी सावधान भएनौं भने। हामी सावधान हुनुपर्छ अहिलेदेखि, दूरी कायम गर्ने, मास्क लगाउने। किञ्चित हामी काभिड–१९ लाई अवसर नदिऔं। मैले भन्ने गरेको छु यहाँबाट फर्किएपछि हामी सबैले हातमुख राम्रोसँग धोऔं।
तातो पानीको बाफ लिने, नुनपानीले कुल्ला गर्ने बानि बसाल्दा कोभिड संक्रमणबाट जोगिन सकिने छ ।’
आफूले कोभिडको बारेमा कुरा गर्दा कतिपयले आफ्नो कुरा गर्नु भन्दै सुझाव दिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले कोभिड नियन्त्रण गर्न नसक्दा प्रधानमन्त्रीको आलोचना हुने भएकाले आफूले पनि कोभिड धपाउनका लागि कुरा गरेको बताए।
कोभिड–१९ विरुद्धको खोपले पनि सत प्रतिशत काम नगर्ने भएकाले सावधानी अपनाउनु नै सबै भन्दा सुरक्षित विधि रहेको प्रधानमन्त्रीले बताए ।
प्रधानमन्त्री ओलीले उद्योग व्यावसायलाई सरकारले दिने सेवामा एकद्वार प्रणाली लागू गरिएको बताएका छन् । यस्तै कर्मचारी तन्त्रमा हुने प्रक्रियागत झन्झटलाई पनि समाधान गर्दै सरलिकृत बनाउँदै लग्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन्।
प्रधानमन्त्री ओलीले उपभोग्य वस्तु आयात गर्नु भन्दा लगानी र प्रविधि आयात गरी नेपालमै उत्पादन बढाउने र निर्यात गर्ने काम गर्न व्यवसायीहरुलाई आग्रह गरे। उत्पादन बढाई निर्यात बढाउन सके व्यापार सन्तुलन कायम हुने र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने पनि प्रधानमन्त्री ओलीले बताएका छन् ।
अन्य मुलुकको तुलनामा नेपालको अर्थतन्त्रमा कोभिड–१९ को प्रभाव कम परेको दावी गर्दै प्रधानमन्त्री ओलीले कोभिडको कारण नेपालको पर्यटन क्षेत्र सबैभन्दा धेरै प्रभावित भएको र अर्थतन्त्रमा धक्का भएको भएपनि उठ्नै नसक्ने गरी भने असर नपरेको बताएका छन् ।