प्रचण्डले गराए चार मन्त्रीको सांसद पद खारेज
काठमाडौं । नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चार जना मन्त्रीको सांसद पद खारेज भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले आज बसेको प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रले कारबाही गरेका चार सांसद अर्घाखाँची १ बाट निर्वाचित टोपबहादुर रायमाझी, कैलाली ४ का लेखराज भट्ट, रौतहट ३ का प्रभु साह र कैलाली ३ बाट निर्वाचित गौरीशंकर चौधरीको सांसद पदमुक्त भएको जानकारी गराएका हुन् ।
माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसद सचिवालयलाई पत्र पठाएर उनीहरुलाई कारबाही गरिएको जानकारी गराउँदै उनीहरुलाई पदमुक्त गर्न आग्रह गरेको थियो ।
राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल परित्याग गरेका सांसद पदमुक्त हुन्छन् । सांसद नरहेका मन्त्रीहरु ६ महिनासम्म मन्त्री रहन पाउँने सम्वैधानिक व्यवस्था छ ।