पत्रकार निर्वाचन : पहिलो पटक प्रत्यक्ष प्रणालीमार्फत चुनाव

सम्पादकीय

नेपाल पत्रकार महासंघको निर्वाचन सम्पन्न भएको छ । पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट आम सदस्यहरुले आफ्ना प्रतिनिधिलाई भोट दिएका छन् । यसअघि केन्द्रिय समितिका पदाधिकारीहरुलाई सदस्यहरुले भोट दिएर निर्वाचित गराएका प्रतिनिधि–पार्षदहरुले मात्र भोट दिने व्यवस्था रहेको थियो । यो पारम्पारिक व्यवस्थालाई महासंघले खारेज गर्दै यो वर्षदेखि केन्द्र, प्रदेश, जिल्ला, प्रतिष्ठान र एशोसिएटमा महासंघ सदस्यहरुले प्रत्यक्ष रुपमा मतदान गर्ने व्यवस्था मिलाएको हो । महासंघले गतवर्ष बिधान संसोधन गरेको थियो । यो अभ्यासलाई आम सदस्य मतदाताहरुले महासंघको कदम सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।
महासंघको लामो इतिहासमा सदस्य आफैंले चाहेर पनि प्रत्यक्षरुपमा केन्द्रिय प्रतिनिधिहरुलाई मतदान गर्न पाएका थिएनन् । सिधै मतदान गर्नबाट बञ्चित गरेको भन्दै सर्वत्र बिरोध र आलोचना भइरहेको थियो । यो कुरालाई मध्यनजर गर्दै महासंघले आफ्नो बिधानमा संसोधन गरेर प्रत्यक्ष प्रणालीमा जाने व्यवस्था गरेपछि अहिले महासंघका आम सदस्यले प्रत्यक्ष मतदान प्रक्रियाबाट आफ्ना प्रतिनिधि चुन्न पाएका हुन् । यो आफैंमा सकारात्मक र शूरुवाती प्रक्रियाको सवैतिरबाट तारिफ भएको छ ।
वकिलहरुको छाता संगठन नेपाल बार एशोसिएसनले यो पद्धति धेरै अगाडिबाट लागू गर्दै आएको थियो । उसको जस्तै प्रत्यक्ष प्रणाली र व्यवस्था लागू गर्न महासंघलाई पनि लामो समयदेखि दवाव नपरेको पनि होइन । तर बिभिन्न कारण देखाउँदै महासंघले यो पद्धति लागू गर्न सकिरहेको थिएन । यो बर्षबाट लागू भएको प्रत्यक्ष प्रणाली अन्तर्गत यही चैत २५ गते निर्वाचन सम्पन्न भइसकेको छ । सम्पूर्ण मतपरिणाम पनि सार्वजनिक भइसकेको छ । राजनीतिक दलहरुको छाँया यसपटक पनि प्रत्यक्ष रुपमा पत्रकारको चुनावमा परेको देखिएको छ । नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियन, नेकपा माओवादी केन्द्रनिकट प्रेस संगठन, नेकपा एमाले (माधव पक्ष) निकट प्रेस चौतारीमा संलग्न पत्रकार र राष्ट्रिय जनमोर्चा निकट प्रगतिशील पत्रकार संघबीच गठनबन्धन भएको थियो । त्यस्तै नेकपा एमालेनिकट प्रेस चौतारी नेपाल, जनता समाजवादी पार्टी निकट प्रेस मञ्च नेपाल र राप्रपा निकट मिडिया नेपालबीच गठबन्धन भएको थियो ।
अधिकांस जिल्ला शाखामा युनियन–संगठन गठबन्धनका उम्मेदवारहरुले जित हासिल गरेका छन् । सकेसम्म सत्तारुढ दल नेकपा एमाले निकट प्रेस चौतारी नेपाललाई एक्लो बनाउने प्रयत्न गरियो । जसका कारण सरकार निकट चौतारीइतर समुहले अधिकांश स्थानमा चुनावी जित हासिल गरेका हुन । मिनी जनमतको रुपमा लिइएको पत्रकारको यस चुनावमा सरकारी निकट संगठनको लज्जास्पद पराजय भएको छ । युनियन र सेन्टरको गठबन्धनले अधिकांश ठाउँमा जित हासिल गरेसँगै सरकार निकट मानिएको पत्रकार संगठन प्रेस चौतारीको अवस्था खस्किएको देखिएको छ ।