दश वर्षभित्र नेपालको अर्थतन्त्र सय अर्ब डलर पु¥याउने महासंघको लक्ष्य
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी दश वर्षभित्र नेपालको अर्थतन्त्र सय अर्ब डलर पु¥याउने लक्ष्य लिएको छ । महासंघले वार्षिक चार लाख रोजगारी सिर्जना गर्ने परिकल्पनासहित एक सयवटा योजनाहरु समावेश गरिएको राष्ट्रिय आर्थिक रुपान्तरण २०३० पुस्तक (भिजन पेपर) सार्वजनिक गरेको छ ।
शनिबार महासंघको ५५ औं वार्षिक साधारण सभामा महासंघका अध्यक्ष शेखर गोल्छाले भिजन पेपर सार्वजनिक गरेका हुन् ।
महासंघको वर्तमान नेतृत्वले अवको एक दशकभित्र मुलुकको आर्थिक अवस्था कस्तो हुने भन्ने परिकल्पनासहित तयार पारेको भिजन पेपरमा मुलुकको अर्थतन्त्र दोहोरो अंकमा वृद्धि गर्ने, आगामी दश वर्षभित्र मुलुकको अर्थतन्त्र १ सय अर्व डलरको पु¥याउने र दीगो उच्च आर्थिक वृद्धिमार्फत् अतिरिक्त २२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ ।
भिजन पेपरमा समावेश भएका योजनाहरु दुई वर्षभित्र सकिने र दीर्घकालीन रुपमा महत्व भएका योजनहरु समावेश गरेको बताइएको छ ।
५५ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवस २०७७ को मुख्य थिम ‘समृद्धिका लागि सम्मानित निजी क्षेत्रः समुन्नत नेपाल’ रहेको छ ।
उद्घाटन समारोहपछि विभिन्न तीनवटा सत्रहरुमा भिजन पेपरका बारेमा सामूहिक छलफल हुने कार्यक्रम छ । सोमबार महासंघको बन्द सत्र आयोजनासहित साधारण सभाका सम्पूर्ण कार्यक्रम सम्पन्न हुने महासंघले जनाएको छ ।
आफ्ना लक्ष्यलाई पूरा गर्ने बलियो आधार र सुझाबहरुसमेत तयार पारिएको छ । भिजन पेपरको कार्यान्वयनमा महासंघले वार्षिक साधारण सभामा नेपाल सरकारको प्रतिवद्धतासमेत लिने बताइएको ।