नेपाली काँग्रेस गुल्मीले केन्द्रीय
महिला नेतृहरूसंग भेटघाट

नेपाली काँग्रेस गुल्मीले केन्द्रीय महिला नेतृहरूसंग भेटघाट तथा छलफल गरेको छ। नेपाल महिला संघ जिल्ला कार्य समितिको सहजीकरणमा केन्द्रीय काँग्रेस महिला नेतृहरुसँग सोमबार बीपी स्मृति भवन तम्घासमा जिल्लास्थित नेता, कार्यकर्ताहरुले भेटघाट गर्नुभएको हो।

त्यस अवसरमा केन्द्रीय सदस्यहरु कमला पन्त, रत्ना शेरचन, राष्ट्रिय सभा सचेतक अनिता देवकोटा, संविधान सभा सदस्य विन्द्रा रानालाई स्वागत गरिएको थियो। केन्द्रीय सदस्य कमला पन्तले नेपाली जनताहरुको भरोसाको केन्द्र नेपाली काँग्रेस मात्र भएको दाबी गर्नुभयो। यस्तो अवस्थामा काँग्रेसले आफुलाई बलियो बनाएर लैजान आवश्यक रहेको उल्लेख गर्नुभयो।

केन्द्रीय सदस्य रत्न शेर्चनले सरकार अहिले गन्तव्य बिहिन बनिरहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले प्रतिनिधि सभालाई निष्क्रियता बनाउन खोजेको समेत आरोप लगाउनुभयो।

केन्द्रीय सदस्य अनिता देवकोटाले काँग्रेस राजनैतिक मियोमा नआए मुलुकले निकास नपाउने जिकिर गर्नुभयो। देशमा भ्रष्टचार मौलाउँदै गएको अवस्थमा सुशासनका लागि पनि काँग्रेस नेतृत्वमा आउनु आवश्यक रहेको बताउनुभयो।

केन्द्रीय सदस्य विन्द्रा रानाले मुलुकले अहिले काँग्रेसलाई खोजीरहेको बताउनुभएको छ। सरकार अहिले अनिर्णयको बन्दी बनेको उल्लेख गर्दै प्रधानमन्त्रीले राजिनमा दिएर बाटो खुला गर्नुपर्ने बताउनुभयो।

हरेक स्थानमा एकताबद्ध भएर लाग्न आवश्यक रहेको बताउनुभएको छ। महिलाहरु सशक्त रुपमा अगाडि बढ्न भूमिकालाई सशक्त रुपमा अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो। साथै सहभागीहरुले काँग्रेसले सशक्त रुपमा प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको बताएका थिए।

भेटघाट तथा छलफलमा नेपाली काँग्रेस जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठ, सचिव खिलध्वज पन्थी, नेपाली काँग्रेस केन्द्रीय नीति अनुसन्धान प्रशिक्षण प्रतिष्ठानका सदस्य छन्द पहराई लगायतको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन नेपाल महिला संघ जिल्ला सचिव कल्पना पन्थीले गर्नुभएको थियो।