प्यूठानको स्वर्गद्वारीमा ज्यान गुमाएका ५ जनाको शव आफन्तलाई बुझाइयो
जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारीहरू सवार गाडी प्यूठानको स्वर्गद्वारी नजिकै दुर्घटना हुँदा मृत्यु भएका ५ जनाको शब आफन्तलाई बुझाइएको छ। नयाँ वर्ष मनाउन जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार लु १ ज १६५५ नम्बरको जीप धार्मिकस्थल प्युठानको स्वर्गद्वारी जाने क्रममा स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा दुर्घटना भएको थियो।
दुर्घटनामा प्रशासकीय अधिकृत स्याङजा जिल्ला निवासी ३८ वर्षका श्याम न्यौपाने, गुल्मीको मुसिकोट नगरपालिका वडानम्बर–३ का २२ वर्षीय चालक केशव कार्की, रेसुङ्गा नगरपालिका वडा नम्बर–७ का ३५ वर्षीय कम्प्युटर अपरेटर सूर्य पन्थी, मुद्दा शाखाका धुर्कोट–७ का ३६ वर्षीय ईश्वर भण्डारी, मालिका गाउँपालिका वडा नम्बर–७ का ३५ वर्षीय यमलाल पन्थीको मृत्यु भएको थियो ।
शव आफन्तलाई बुझाइयो
मृतकहरुको शव जिल्ला प्रशासन कार्यालय गुल्मीमा शोक सभा गरेर आफन्तलाई बुझाइएको छ। शोक सभामा प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्मा, जिल्ला स्थित राजनितिक दलका प्रमुखहरु, आफन्त तथा जिल्लावासीहरुले फुल माला ओढाएर अन्तिम बिदाई गरेका थिए। शोक सभामा जिल्लास्थित राजनैतिक दलका प्रमुखहरु देखि जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, व्यापारी, सर्वसाधरण, पत्रकार लगायतको जिल्लावासीहरुको ठुलो संख्यामा उपस्थिति रहेको थियो। जीपमा सवार १७ सवार थिए। दुर्घटनामा १२ जना घाइते भएका थिए। घाइते ७ जनालाई बुधवार नै नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौं लगेर उपचार भइरहेको छ।
जिल्ला प्रशासन कार्यालय गुल्मी ५ दिन अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीका सूचना अधिकारी प्रशासकीय अधिकृत उद्वव पन्थीले जानकारी दिनुभयो। जिल्ला प्रशासन कार्यालयका ४ जना कर्मचारीको मृत्यु भएको शोकमा ५ दिन कार्यालयका सेवाहरु बन्द गर्ने निर्णय भएको विज्ञप्ति जारी गर्दै पन्थीले जानकारी दिनुभएको छ। शोकमा बैशाख ३ गतेदेखि बैशाख ६ गते सोमवारसम्म शान्ति सुरक्षा र मुद्दा सम्बन्धी काम कारवाही हुने र अन्य सेवा प्रवाह नहुने पन्थीले जानकारी दिनुभयो।
दुर्घटनामा गम्भीर घाइते सन्दिप परियार, मुना पाण्डे, कमला पन्थी, सुनिता कँडेल, सार्थक ज्ञवाली, गीता मुखिया, अनिश बोहरा हेलिकप्टर मार्फत काठमाडौं पठाइएको हो। उनीहरुको अवस्था खतारामूक्त रहेको विज्ञप्तीमा उललेख गरिएको छ। दुर्घटनामा परेर घाइते ५ जना सामान्य उपचारपछि घर फर्किएका छन्। जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सहितको टोली दुर्घटनामा परेपछि जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादवी शर्मा सहितको टोली प्युठान पुगेको थियो।