१४ जिल्ला कोरोनाबाट अति प्रभावित
थपिए ५३४ जना संक्रिमित, ५ जनाको मृत्यु
काठमाडौं । १४ जिल्ला कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट अति प्रभावितमा क्षेत्रमा परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ अति प्रभावित जिल्लामा परेका छन् ।
कोरोना संक्रमण तीव्र गतिमा बढेका मन्त्रालयले १४ जिल्लालाई अति प्रभावित क्षेत्रमा राखेर बालबालिकालाई विद्यालय नपठाउन समेत अपील गरेको छ ।
ती जिल्लाहरुमा विद्यालय, रात्री व्यवसाय, ७ बजेपछि सबै रेष्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जीम, सार्वजनिक पूजाआजा तथा जात्राहरु, सभा सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थानमा सहभागी नभई दिनु मन्त्रालयले अपिल गरेको छ ।
त्यस्तै मन्त्रालयले सबै अस्पतालहरुलाई फिवर क्लिनिक अनिर्वाय सञ्चालन गर्न आग्रह गरेको छ भने सरकारी अस्पताललाई कम्तिमा ५० प्रतिशत वेड कोभिड–१९ का लागि छुट्याउने र निःशुल्क उपचार सेवा प्रवाह गर्न निर्देशन समेत दिएको छ ।
थपिए ५३४ जना संक्रिमित, ५ जनाको मृत्यु
त्यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३५८८ जनामा गरिएको पीसीआर परीक्षणमा ४९० जना र ५६४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ४४ जनामा संक्रमण पुष्टि भएको हो ।
जसमध्ये काठमाडौं जिल्लामा १४५, ललितपुरमा ४३, कास्कीमा ३८, बाँकेमा ८९, मोरङ र दाङमा १३र१३, रुपन्देहीमा १६, महोत्तरी र बाग्लुङमा १०र१० जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको हुनेको संख्या १५७ छ भने कोरोना भाइरस संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ ।