प्रधानमन्त्री ओली र जसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता

काठमाडौं । प्रधानमत्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको ओली र महन्थबीचको भेटमा दुई पक्षको कार्यदलका सदस्यहरु समेत सहभागी भएका थिए । वैठकमा अहिलेसम्म भएको कामकारबाहीको समीक्षा भएको जसपा नेता लक्ष्मणलाल कर्णले बताएका छन् ।
एमालेको कार्यदलमा संसदीय दलका उपनेता सुवास नेम्वाङ, विष्णु पौडेल र राजन भट्टराई छन् भने जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण छन्, उनीहरुबीच पनि पटकपटक छलफल हुँदै आएको छ ।
प्रधानमन्त्री ओली नेतृत्वको सरकार ढाल्न चलखेल भइरहेका बेला ओलीले जसपाको समर्थन लिएर सरकार टिकाउन चाहेका छन् । यता ओली सरकार ढाल्न कम्मर कसेर लागेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जसपाको सहयोग खोजेका छन् । जसपाभित्र दुई धार देखिको छ । पार्टी अध्यक्ष महन्थ ठाकुर पक्ष ओलीलाई सहयोग गरेर अघि बढ्न खोजेका छन् भने अर्का अध्यक्ष उपेन्द्र यादव पक्ष भने नयाँ सरकार गठनको पक्षमा देखिएको छ ।