घरभेटीले विनाकारण डेरावाललाई निकाल्न नपाउने

काठमाडौं: आगामी भदौ १ गतेदेखि लागू हुने मुलुकी देवानी (संहिता) ऐन २०७४ अनुसार घरभेटीले विनाकारण डेरावाललाई हटाउन नपाउने भएका छन् ।

ऐन २०७४ अनुसार आफैंलाई आवश्यक रहेको भन्दै बहालवालाई हटाएको पाइएमा त्यस्तो घर ३ महिनासम्म आफूले प्रयोग नगरी अन्य व्यक्तिलाई बहालमा दिने पाउने छैनन् ।

तर, बहालमा लिएको व्यक्तिले उक्त घरभित्र कानुनले निषेध गरेको कसुरजन्य क्रियाकलाप गरेमा, घरबाट मानिस हटाएरै गर्नुपर्ने मर्मत सम्भार गर्नुपरेमा, प्राविधिक तथा स्वास्थ्य दृष्टिले उक्त ठाउँ मानिसका लागि बसोबास योग्य नदेखिएमा बहाल लिने व्यक्तिलाई हटाउन सक्ने उल्लेख छ।

धेरै घरधनीले आफ्ना लागि आवश्यक भएको भन्दै बहालवालाई घर वा कोठा खाली गर्न लगाउने र तुरुन्तै अर्कोलाई भाडा रकम बढाएर दिने गरेका छन् ।

ऐन अनुसार घरधनी आफैंलाई आवश्यक परेको खण्डमा पनि कम्तीमा ३५ दिनअघि नै बहालवालालाई लिखित जानकारी गराउनुपर्नेछ।