साँझको रेसुङ्गा सेरोफेरोमा यहाँलाई स्वागत छ।
नेपाली काँग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले संसारका कुनै पनि तानाशाह विद्यार्थी शक्ति संघ डराउने बताउनुभयो। नेपाली काँग्रेसको शुभेच्छुक भातृ संस्था नेपाल विद्यार्थी संघ(नेविसंघ) गुल्मीको स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा सभापति श्रेष्ठले यस्तो बताउनुभएको हो।
‘संसारका कुनै पनि तानाशाह यदि कसैसंग डराउँछ भने त्यो वास्तवमा विद्यार्थी शक्ति संघ डराउँछ। तरुण शक्ति संग डराउँछ।’ सभापति श्रेष्ठले अघि भन्नुभयो,‘विद्यार्थी शक्ति जोसँग जोस मात्र होइन होस पनि हुन्छ। होस मात्र होइन जोस पनि हुन्छ।’ केही दिन अघि मात्र काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेर बहादुर देउवासँग भेटघाट गरि फर्किनुभएका श्रेष्ठले व्यवस्था बचाउँनका लागि भए पनि काँग्रेसले सरकारको नेतृत्व लिनुपर्ने बताएको स्मरण गराउनुभयो।
सभापति श्रेष्ठले भन्नुभयो,‘मुलुकले राजनैतिक निकाश पाउन सकेन्। कुर्चीका लागि होइन। व्यवस्था टिकाउनका लागि पनि काँग्रेसले अग्रसरता देखाउन जरुरी छ। यो सिस्टम नै कोल्याप्स हुने स्थितिमा पुगेको छ।’ सभापति श्रेष्ठले ढिलो चाँडो केही दिनमै काँग्रेसको नेतृत्वमा सरकार बन्ने दाबी समेत गर्नुभयो। अहिले मुलुक प्रतिगमन उन्मोख भएको उल्लेख गर्दै अनिर्णयको बन्दी समेत बनेको बताउनुभयो। श्रेष्ठले नेविसंघको काँधमा ठुलो जिम्मेवारी रहेको उल्लेख गर्नुभयो।
जिल्ला सचिव खिलध्वज पन्थीले भातृ संस्थाहरूलाई बलियो बनाएर लैजान आवश्यक रहेको बताउनुभयो। हरेक विद्यालयमा संगठन विस्तार गर्न आग्रह समेत गर्नुभयो। काँग्रेसले र देश र जनताको पक्षमा काम गरे लोकप्रिय बन्ने बताउनुभयो। नेपाली काँग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सदस्य छन्द बहादुर पहराईले कम्युनिस्टको अवस्था अहिले सामन्ती, पूँजीवादी, नाटकको टालो हालेर चिन्नै नसक्ने अवस्थामा गएको आरोप लगाउनुभयो। नेविसंघ भोलिको खम्बा भएकाले सशत्त बनाउन आवश्यक रहेको बताउनुभयो।
त्यस अवसरमा महासमिति सदस्य महेन्द्र भण्डारी, तरूणदल क्षेत्रिय सभापति झविन्द्र अर्याल, नेविसंघ कार्यवाहक सभापति राम्जी पन्थी, नेविसंघ नेतृ पार्वती कुँवर लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। ‘राष्ट्रियता लोकतन्त्र समाजवाद र विद्यार्थी एकता हाम्रा आदर्श हुन्।’ भन्ने नाराका साथ स्थापना भएको नेविसंघले सोबार बीपी स्मृति भवन तम्घासमा औपचारिक कार्यक्रमका बीच नेविसंघ क्षेत्रिय कार्य समिति क्षेत्र नम्बर दुईको आयोजनामा ५२ औं स्थापना दिवस मनाएको हो। क्षेत्रिय सभापति अर्जुन पोखरेलको सभापतित्व रहेको कार्यक्रममा नेविसंघ नेता पुनाराम घिमिरेको स्वागत तथा कमल कुँवरको सञ्चालन रहेको थियो ।
गुल्मी युनाइटेड बचत तथा ऋण सहकारी संस्था लिमिटेड गुल्मीद्धारा सामाजिक सेवा तथा सहयोग कार्यक्रम अर्तगत उपल्लो तम्घास माध्यमिक विद्यालमा अध्ययन गर्ने फरक क्षमता भएका विद्यार्थीहरुको लागि कपडा तथा किताब राख्ने काठको दराज प्रदान गरेको छ ।
दराजको चाबि साकोसका अध्यक्ष गुणानिधि शर्मा पाण्डेले विद्यालयकी प्रध्यानाध्यापक पिंकी घिमिरे भुसाललाई हस्तान्तरण गर्नुभएको छ। गुल्मी युनाइटेड साकोस वि.सं. २०६४ सालमा स्थापना भएको सहकारी संस्था हो। साकोसले सामाजिक सेवा तथा सहयोग अन्तर्गत हरेक वर्ष शिक्षा, स्वास्थ्य, मानवीय सेवा लगायत सामाजिक क्षेत्रमा योगदान पु¥याउदै आएको छ ।
यस सहकारीका अध्यक्ष गुणानिधि शर्मा पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा वडाअध्यक्ष अध्यक्ष नारान बरालको प्रमुख आतिथ्यता रहेको थियो। भने सहकारीका उपाध्यक्ष रामप्रसाद पन्थी, सचिव रामप्रसाद पन्थी, कोषाध्यक्ष तुल्सीराम पाण्डे, निवर्तमान अध्यक्ष श्यामकुमार पाण्डे, पूर्व अध्यक्ष दुर्गाप्रसाद पाण्डे, व्यवस्थापक प्रकाश पन्थी, लगायत संचालक समिति सदस्यहरु भने विद्यालयको तर्फबाट अध्यक्ष नारन बराल, प्रध्यानाध्यापक पिंकी घिमिरे भुसाल, लेखाजोखा संयोजक राममणि पन्थी लगायतको उपस्थिति रहेको थियो।
स्वावलम्बन महिला वचत तथा ऋण सहकारी संस्था लिमिटेड रेसुंगा नगरपालिका वडा नम्बर १ तम्घास गुल्मीले दुई जना मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ। सोमबार यस सहकारी संस्थाका सेयर सदस्य समेत रहेका रेसुंगा नगरपालिका वडा नम्बर ८ निवासी ३४ वर्षिय पार्वती बिक र २६ वर्षिय अनिता श्रीसलाई उपचारमा सहयोग पु¥र्याउने उदेश्य सहित आर्थिक सहयोग हस्तान्तरण गरिएको थियो।
यस सहकारीको स्वास्थ्य कोष अन्तरगत रु ५ हजारका दरले तथा सेयर सहकारीका २ सय ४४ जना सदस्यहरुले स्वस्फूर्त रुपमा संकलन गर्नुभएको रु ४० हजार गरी रू ५० हजारसहयोग संकलन गरिएको थियो। मृगौला पीडित विक र श्रीसलाई प्रति व्यक्ति रू २५ हजारका दरले आर्थिक सहयोग हस्तान्तरण गरिएको हो।
सोमबार यस सहकारीको कार्यालय क्याम्पसरोडमा अध्यक्ष बिमला गौतमले एक औपचारिक कार्यक्रमका बीच मृगौला पीडित पार्वता विककी आमा रामकला विक र पीडित अनिता श्रीसकी आमा ज्ञानु श्रीसलाई आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको थियो।
२०४८ सालमा १६ जना आमा दिदिबहिनीहरुबाट २० रुपैयाँ जम्मा गर्न शुरु गरी विधिवत रुपमा २०५० साल माघ २५ गते डिभिजन सहरकारी कार्यालय पाल्पामा दर्ता भएको थियो।
हाल यस सहकारी संस्थामा ९ सय ८६ जना सेयर सदस्य रहनुभएको छ। यसले राष्ट्रिय स्तरका पुरस्कारहरु पनि प्राप्त गरेको व्यवस्थापक सरस्वती केसीले जानकारी दिनुभयो।
यस सहरकारीले आफ्ना सेयर सदस्यहरुलाई समवेदना कोष अन्र्तगत सदस्यको मृत्यु भएमा रु १५ हजार उपलब्ध गराउँछ । भने वृद्धभत्ताकोष, दैविप्रकोप सेवा कोष, सुत्केरी कोष र कल्याणकारी सापटी कोष समेत स्थापना गरेको छ। यसको कूल पूँजी १३ करोड छ भने लगानी ११ करोड रहेको छ। सेयर पूँजी १ करोड १२ लाख रहेको व्यस्थापक केसीले जानकारी दिनुभयो।
सहयोग हस्तान्तरण कार्यक्रममा अध्यक्ष गौतम, उपाध्यक्ष कमला मरासिनी, सचिव सावित्रा केसी, कोषाध्यक्ष पार्वता पन्थी, तथा सदस्यहरु राधा पाण्डे, पार्वती पाण्डे, सीता कुमारी उपाध्याय, भगवता पाण्डे, गीता राना, ऋण उपसमिति सदस्य सावित्रा पन्थी लगायतको उपस्थिति रहेको थियो।
कृषि ज्ञान केन्द्र गुल्मीले स्थानीय तहका कृषि प्राविधिकसँग अन्तरक्रिया थालेको छ । स्थानीय तहमा आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट बनाउने समय भएकाले केन्द्रले प्राविधिकहरूसँग छलफल गरेको हो ।
केन्द्रले योजना तर्जुमा गर्दा ३ तहका सरकारका कृषि योजनामा विविधीकरण ल्याउने उद्देश्यले छलफल तथा अन्तरक्रिया गरेको हो । अन्तरक्रियामा विशेषगरी प्रदेश र स्थानीय सरकारका कृषि योजना एउटै प्रकारका हुँदा दुरुपयोग र प्रभावकारी नहुने स्थितिको समीक्षा गरिएको थियो ।
कार्यक्रममका जिल्ला समन्वय प्रमुख लक्ष्मण पराजुलीले प्रदेश र स्थानीय सरकारले समन्वय नगरेका कारण एकै प्रकारको बिउ, मल, कृषि उपकरण र अनुदान वितरण गर्दा गाउँमा कृषि कार्यक्रम प्रभावकारी बन्न नसकेको गुनासो गरे । गत वर्षसम्म स्थानीय तहले कृषि प्राविधिक अभाव देखाएर उम्कने गरेको सन्दर्भलाई उल्लेख गर्दै अब पनि कृषिमा रचनात्मक योजना र काम नहुँनु विडम्बनाको अवस्था हुने उनको धारणा छ ।
ज्ञान केन्द्रका प्रमुख कोमल शाहीले कृषि ज्ञान केन्द्रको प्रगति विवरण, केन्द्रका कृषि अर्थविज्ञ युवराज ढकालले योजना तर्जुमा प्रक्रिया र मार्गदर्शन, केन्द्रका लेखा प्रमुख गुणानिधि पाण्डेयले आर्थिक ऐन, केन्द्रकै तर्फबाट टीकाराम न्यौपानेले तालिम तथा प्रसार शाखामार्फत सञ्चालित अनुदान, खुबिराम पोख्रेलले मिसन कार्यक्रम, हरि आचार्यले स्मार्ट कृषि गाउँ कार्यक्रम र सुस्मिता कुँवरले सुलभ कर्जाका विषयमा सहजीकरण गरेका थिए । त्यस्तै, स्थानीय तहबाट उपस्थित प्राविधिकहरूले आफ्नो पालिकाको कृषि योजना र कार्यक्रमबारे जानकारी गराएका थिए ।
२ दिने गोष्ठीबाट प्राविधिकले नयाँ योजनाको रूपमा सबै तहले माटो परीक्षण प्रयोगशाला सञ्चालन गर्ने, गुणस्तरीय र प्रभावकारी कृषि नीति र योजना समावेश गर्न जनप्रतिनिधिसँग समन्वय र छलफल गर्ने निष्कर्ष निकालेका छन् । एकै प्रकारको कृषि उपकरण खरिदको मूल्यमा एकरूपता ल्याउन प्रदेश सरकारले तोकेको मूल्यसूचीका आधारमा कृषि सामग्री खरिद गर्ने निर्णय पनि गोष्ठीमा गरिएको छ ।
बाग्लुङ्गको दुर्गम तामान गाउँ अहिले ढाका बुन्ने महिलाहरूको गाउँ भनेर चिनिन थालेको छ ।मगर समुदायको बाहुल्यता भएको गाउँका अधिकांश महिलाहरू दैनिकजसो ढाका बुन्न तल्लीन हुने गरेका छन् । ढाका बुनाइ अहिले यहाँका महिलाहरूको लागि आर्थिक उपार्जनको भरपर्दो स्रोत बनेको छ । प्रत्येक घरमा काठबाट बनेका ढाका बुन्ने तानहरू देख्न सकिन्छ । ढाका बुन्न घरका कोठाहरू कपडा र धागोहरूले भरिभराउ देखिन्छन् ।
अझ यहाँको आमा समूहले आफ्नै भवनसमेत बनाएर महिलाहरूको आयआर्जनको थलो पनि बनाएका छन्। जहाँ गाउँका महिलाहरूले उद्योग सञ्चालन गरेका छन् । उद्योग सञ्चालनमा आएपछि उनीहरूको बिहान बेलुकाको समय घरको काममा र दिउँसो उद्योगमा बित्ने गरेको छ ।
खाली घरको काम र बालबच्चाको स्याहार सुसारमा रहने स्थानीय महिलाहरूको दैनिकीसमेत फेरिएको छ । उद्योगमा सबैले आलोपालो तान चलाउने र धागो मिलाउने गर्ने गरेका छन् । उद्योगमा ढाकाबाट सल, टोपी, गलबन्दी, इस्टकोट, झोला, खादालगायतका कपडाहरू बनाउँदै आएका छन् ।
बुनेका कपडाहरू स्थानीय बजारसँगै विदेशमा समेत निर्यात हुने गरेको छ । उद्यमी जमुना घर्तीले उत्पादन गरेका सामानहरू अहिलेसम्म गाउँ तथा आसपासका स्थानहरूमा बिक्री गर्दै आए पनि बजार ब्यवस्थापनमा सरोकारवाला निकायले ध्यान दिनुपर्ने उहाँको गुनासो छ ।
बागलुङ घुम्न आउने पर्यटकहरूले बागलुङबाट चिनोका रूपमा ढाका टोपी, आस्कोट, सल, चोलो पछ्यौरा, झोलादेखि साडी सम्म उपहारको रूपमा लैजाने गरेका छन् । यस बर्ष भने कोभिड संक्रमण, लामो लडकडाउनले गर्दा विगतका तुलनामा २५ प्रतिशत पनि व्यापार नभएको ढाका व्यवसायीहरूको भनाइ छ ।
जिल्लामा झण्डै एकदर्जन साना ठूला ढाका उद्योग रहेका छन् भने जिल्ला भरी नै घरेलु तानबाट ढाका बुन्ने संख्यामा दिनहुँ वृद्धि भइरहेको छ । महिलाहरूको आपसी एकताले सक्षम र उद्यमी बन्ने समाज परिवर्तन गर्न सकिने सन्देश यहाँका महिलाहरूले दिएका छन् ।
बाग्लुङ्गको गलकोट नगरपालिका १० पाण्डबखननीमा माउ बाख्रा वितरण गरिएको छ । पशु सेवा शाखा गलकोटको आर्थिक वर्ष ७७÷७८ को बजेट कार्यान्वयन गर्ने क्रममा १६ जना कृषकहरूलाई माउ बाख्रा वितरण गरिएको छ।
जनहि दुईको दरले सिद्धथान आर्य आर्जन कृषक बाख्रा पालन समुहका अध्यक्ष यामकली कायचाको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष तिलक घर्ति, वडा सदस्य धनबहादुर सुनार, रामप्रसाद वि.क, शाखा प्रमुख हरिदत्त सुवेदी, बलराम सुवेदी, पाण्डबखानी पशु प्राविधिक शिव आचार्य लगाएको सहभागीता रहेको सुुुरेश छन्त्यालले खबर पठाउनु भएको छ।
लुम्बिनी प्रदेशका मुख्मँमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगै माओवादी केन्द्र सरकारबाट बाहिरिएको छ। माओवादीबाट सरकारका मन्त्री बनेकाहरू कुलप्रसाद केसी र सुदर्शन बरालले मन्त्री पदबाट राजीनामा दिएका हुन्। केसी आन्तरिक मामिला मन्त्री र बराल सामाजिक विकास मन्त्री रहेका थिए।
पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमा कांग्रेस, माओवादी र जसपासहितका ४१ सांसदहरूले हस्ताक्षर गरेका छन्। हस्ताक्षर गर्ने सदस्य हरूमा कांग्रेसका १९, माओवादी केन्द्रका १७ र जसपाका ५ गरी ४१ जना छन्। प्रस्तावित मुख्यलमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ।
लुम्बिनी प्रदेशमा एमालेका ४१, कांग्रेसका १९, माओवादी केन्द्रका २०, जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका १ जना गरी ८७ सांसद छन्। यहाँ बहुमतको सरकार बनाउनका लागि ४३ मत आवश्यक पर्छ।
तर, कर्णालीमा माधवकुमार नेपाल समूहले फ्लोर क्रस गरेपछि मुख्यमन्त्री पोखरेललाई पनि आफ्नो कुर्सी जोगाउन समस्या परेको छ। सोही घटना लुम्बिनी प्रदेशमा पनि दोहोरियो भने एमालेको नेपाल पक्षका सांसदहरुले समेत पोखरेलको विपक्षमा मतदान गर्न सक्नेछन्। लुम्बिनी प्रदेशमा दुई जना सांसद मात्र नेपाल पक्षमा खुलेर लागेका छन्।