बहुमतको सरकार गठन प्रक्रिया थाल्न राष्ट्रपतिसँग आग्रह

काठमाडौं । विपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्षले नयाँ सरकार गठनका लागि संविधानको धारा ७६ को २ अनुसार प्रक्रिया थाल्न राष्ट्रपतिसँग आग्रह गरेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गरी दुई वा दुईभन्दा बढी दलका बहुमत सांसदहरूको समर्थन प्राप्त नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेगरी प्रक्रिया थाल्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आह्वान गरेका हुन् ।
विश्वासको मत लिने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव संसदबाट अस्वीकृत भएलगत्तै उनीहरुले त्यस्तो माग गरेका हुन ।