राष्ट्रियसभा : देवकोटाको उम्मेदवारी अलपत्र !
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच गएको २७ बैशाखमा मिलेर अगाडि बढने सहमति भएको छ । दुई नेताबिच सहमति भएसँगै नेता नेपालको तर्फबाट उम्मेदवार बनेका खिमलाल देवकोटाको उम्मेदवारी अलपत्र परेको छ ।
यतिवेला आगामी जेठ ६ गतेका लागि तोकिएको राष्ट्रिय सभा निर्वाचनलाई लिएर बिभिन्न किसिमका आशंकाहरु उत्पन्न भएका छन । गत बिहीबार अध्यक्ष ओली र नेता नेपालबीच लामो सम्वाद भएपछि एमालेमा सहमति भएर नयाँ ढंगले अगाडि बढने संकेत मिलेको बताइन्छ ।
नेता नेपालसमुह प्रतिनिधिसभा सदस्यहरुको सामूहिक राजीनामा दिने तयारीमा रहेको भएपनि सहमति जुटेसँगै एकाएक यूटर्न भए । उनीहरुको युटर्न लगत्तै ओली पुनः प्रधानमन्त्री नियुक्त भइसकेका छन् । अहिले ओली र नेपाल समूहबीच निरन्तर वार्ता अगाडि बढिरहेको छ ।
प्रधानमन्न्त्री ओली र नेपालबीचको सम्बन्ध सुधारतर्फ उन्मुख भइरहँदा ६ जेठमा हुने राष्ट्रियसभा उपनिर्वाचनलाई चासोका साथ हेरिएको छ । किनभने, वागमती प्रदेशमा हुने उपनिर्वाचनमा एमालेकै दुई उम्मेदवार चुनावी मैदानमा छन् । अध्यक्ष ओलीले गृहमन्त्री रामबहादुर थापा बादललाई उम्मेदवार बनाएका छन । नेता नेपालका तर्फबाट डा. खिमलाल देवकोटा यसअघि नै उम्मेदवार बनिसकेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षको समर्थन पाएका देवकोटाले कलम चिह्नबाट प्रतिस्पर्धामा गर्दैछन ।
एमाले विभाजन उन्मुख हुँदा विपक्षी दलहरुको साझा उम्मेदवार बनेका देवकोटा मात्रै होइन यतिवेला मतदाता पनि अलमलमा परेका छन । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख÷उपप्रमुखहरुले मतदान गर्नेछन । चुनाव हुन अव चार दिन बाँकी छ । नेकपा एमाले पार्टीको विवाद समाधान पनि भइसकेको छ । तर कसलाई भोट दिने भनेर अलमल भइरहेको र मतदाताहरु केन्द्रको निर्देशनको पर्खाइमा रहेको बताइन्छ । एमाले अध्यक्ष ओलीइतर गठबन्धनबाट उम्मेदवारी दिएका देवकोटाले भने आफु पछाडि नहट्ने अडान राखेका छन् ।
उनको भनाई छ –निष्ठा र इमान्दारिताको राजनीतिप्रति मेरो गहिरो लगाव छ । राजनीतिक दलहरुले म प्रति गर्नु भएको विश्वास र भरोसाप्रति उच्च सम्मान व्यक्त गर्दछु । संविधानप्रदत्त स्थानीय र प्रदेशका अधिकारहरु विना व्यवधान कार्यान्वयन हुनुपर्दछ भन्ने मान्यतामा म दृढ छु । मेरो उम्मेदवारी पनि यही विचारबाट अभिप्रेरित छ । उनले सामाजिक सञ्जालमार्फत आफनो भनाई राखेका छन् । जेठ ६ मा हुने उपनिर्वाचनमा वागमती प्रदेशका १ सय १० प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख÷उपप्रमुख गरी कुल २ सय ३८ जनाले मतदान गर्दैछन् ।
लुम्बिनीमा के होला ?
वाग्मती प्रदेशमा जस्तै लुम्बिनी प्रदेशमा पनि १७ जेठमा राष्ट्रियसभाको उपचुनाव हुँदैछ । उपनिर्वाचनको कार्यतालिका स्वीकृत भए पनि उम्मेदवारी परिसकेको छैन । निर्वाचन आयोगले ७९ प्रदेशसभा सदस्य र २ सय १७ जना स्थानीय तहका प्रमुख÷उपप्रमुख मतदाता रहने नामावली सार्वजनिक गरेको छ । लुम्बिनीमा आठ जना प्रदेश सदस्य र स्थानीय तहका एक जनाको पद रिक्त छ ।