महामारी सामना गर्ने बजेट ल्याइने
काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड १९ लाई सामना गर्ने गरी आगामी वर्षको बजेट ल्याउने बताएका छन् ।
अर्थ मन्त्रालयमा पदबहालीपछि कुरा गर्दै अर्थमन्त्री पौडेलले बजेट तयारीको अन्तिम चरणमा रहेको र कोभिड १९ को महामारीले प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान र गतिशील बनाउने संकल्पका साथ बजेट ल्याउने बताएका हुन् ।
उनले कोभिड १९ लाई रोकथाम तथा नियन्त्रण गर्न सम्पूर्ण शक्ति, स्रोत र सामर्थ्य परिचालित गर्ने भन्दै कोभिड १९ विरुद्धको लडाइँलाई थप सघन र प्रभावकारी बनाउने बताए ।
अर्थमन्त्री पौडेलले कोभिड १९ बाट संक्रमित भएकाहरुको परीक्षण र उपचारका लागि आवश्यक सबै प्रयासहरुलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
पदभारसँगै अर्थमन्त्री पौडेलले अक्सिजन प्लान्ट र पाइप लाइन जडानका लागि डडेल्धुरा अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगञ्जका लागि ५ करोड ८३ लाख २४ हजार रुपैयाँ उपलब्ध गराउने निर्णयलाई स्वीकृत गरेका थिए ।
पदभार ग्रहण गर्नुअघि अर्थमन्त्री पौडेललाई अर्थसचिव शिशिरकुमार ढुङ्गाना, राजस्व सचिव रामशरण पुडासैनी, सहसचिवहरु लगायतले स्वागत गरेका थिए ।