गुल्मीमा कोरोना संक्रिय संक्रमितको संख्या ९ सय नाघ्यो
दोश्रो लहर सुरु भएसंगै ३७ जनाले ज्यान गुमाए
गुल्मी । कारोना भाइरसको दोश्रो लहर सुरु भएसंगै गुल्मीमा संक्रमितको संख्या बढ्दै गइरहेको छ । स्वास्थ्य कार्यालय गुल्मीमा अनुसार अहिलेसम्म यस जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या ११ सय २८ पुगेको छ । जसमा पीसीआर पोजेटिभको संख्या ३ सय ५५ तथा एन्टीजेन पोजेटिभको संख्या ७७३ रहेको छ ।
संक्रमितमध्ये अहिलेसम्म १९० जनाले कोरोना जितेर निको भएका छन् । भने ३७ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा ५० जना पीसीआर पोजेटिभ र ३४ जना एन्टीजेन पोजेटिभ रहेका स्वास्थ्य कार्यालय गुल्मीका सि.आइ.सि.टि अफिसर सुजन ढकालले जानकारी दिनुभयो । यससंगै अहिले यस जिल्लामा संक्रिय संक्रमितको संख्या ९ सय १ पुगेको छ । जसमा ८४४ जना होम आइसोलेसनमा, ६१ जना आइसोलेसनमा, ५ जना आइसियुमा र १ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
स्वास्थ्य कार्यालय गुल्मीका अनुसार अक्सीजन सिलिण्डर १८४, अक्सीजन कन्सन्ट्रेटर १५, भरि अक्सीजन सिलिण्डर १०९ र खाली सिलिण्डर ७३ वटा रहेका छन् । कोरोना भाइरस संक्रमित बिरामीलाई मध्यनजर गरि जिल्लामा १७१ बेडको आइसोलेसन तयार गरि सञ्चालन गरिएको छ ।
जिल्लामा आइसियु र एचडियु बेड भने छैनन् । यस जिल्लामा कोभिड–१९ विरुद्धको पहिलो मात्राको खोप २२ हजार ५ सय ७८ जनाले लगाएका छन् । भने पहिलो र दोश्रो मात्राको खोप ४ हजार १२ जनाले लगाएका छन् । नयाँ भेरिन्ट सहितको कोरोना भाइरस संक्रमण बढ्दै गएपछि गुल्मीमा यहि जेठ ४ गतेसम्म लकडाउन गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञाको समयमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जिल्लाबासीलाई आग्रह गरेको छ ।