राप्रपाले एमाले उम्मेदवार बादललाई भोट हाल्ने
काठमाडौं । जेठ ६ गते हुने बागमतीबाट निर्वाचित हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा राप्रपाले एमालेलाई भोट हाल्ने निर्णय गरेको छ । उपनिर्वाचनमा एमालेबाट गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादल उम्मेदवार रहेका छन् ।
आफ्नो उम्मेदवारलाई मतदान गरी सहयोग गर्नका लागि एमालेबाट अनुरोध सहितको औपचारिक पत्र प्राप्त भएकाले राप्रपाले एमालेका उम्मेदवार बादललाई मतदान गर्ने निर्णय गरेको राप्रपा नेता मोहन श्रेष्ठले बताएका छन् ।
राप्रपाले बादलको पक्षमा मतदान गर्न पार्टीका प्रदेशसभाका सदस्यहरु, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षलाई निर्देशन दिइसकेको नेता श्रेष्ठले बताएका छन् ।
राप्रपाको प्रदेशसभामा २ सांसद छन् । रीता माझी र रीना गुरुङ । उनीहरुको मत भार ९६ हुन्छ । स्थानीय तहतर्फ धादिङको रुबिभ्याली गाउँपालिकाका अध्यक्ष चेरुत तामाङ र उपाध्यक्ष बिना लामासमेत मतदाता हुन् । उनीहरुको मत भार ३६ हुन्छ । यस हिसावले उपनिर्वाचनमा राप्रपाको जम्मा मत भार १३२ छ ।