वडाध्यक्ष देखि पूर्वमन्त्रीसम्म गरिबको सूचीमा
बाजुरा जिल्लामा गरिब परिवारको तथ्यांक संकलनमा व्यापक त्रुटी देखिएको छ । तथ्यांक संकलनमा वास्तविक गरिब परिवार नसमेटी राम्रो आम्दानी भएका र राज्य सत्ताको शक्तिमा रहेका घरपरिवार समेटिएको पाइएको छ ।
जिल्लामा पूर्व भूमिसुधार सहायक मन्त्री देखी तत्कालिन नेकपा एमाले अध्यक्ष सहीतको परिवार पनि गरिब परिचय पत्र पाउनेमा परेका छन् । बडिमालिका नगरपालिकाका उपप्रमुख कविता विष्टको परिवारदेखि बुढीनन्दा नगरपालिका १ नम्बर वडाका अध्यक्ष नृपराज गिरी समेत गरिबको सूचीमा छन् । दुबै जनाको भव्य घर तथा तराइमा जमिन रहेको छ ।
परिचय पत्र वितरण गर्ने प्रक्रिया सुरु भएसँगै सो रहस्य बाहिर आएको हो । स्थायी शिक्षक देखि सरकारी सेवामा कार्यरत स्थायी जागिरे तथा कर्मचारीहरु गरिबको सूचीमा छन् । तथ्यांक संकलन कर्ताको कमजोरीले वास्तविक गरिबहरुको नाम छुटेको बुढीनन्दा नगरपालिका–४ का वडा अध्यक्ष राजन रोकायाले बताए ।
तत्कालिन गाविससँग समन्वय गरी तथ्यांक संकलन गर्न भनिएपनि गणकहरुले मनोमानी गरिएको आरोप लाग्न थालेको छ । जसले पाउनु पर्ने उनीहरु छुटेको र जो राम्रो आम्दानीका साथ शहरमा घर निर्माण गरिसकेका व्यक्तिहरु नै गरिब घर धुरीमा परेका आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।