एमाले भित्र रडाको : कांग्रेस–माओवादीलाई हाइसञ्चो

काठमाडौं । सत्ताधारी दल नेकपा एमालेभित्रको आन्तरिक द्वन्द्वले मुलुकमा राजनीतिक संकट उत्पन्न भईरहेको छ । ठीक यहिबेला सत्ताधारी दलकै माधव नेपाल र झलनाथ खनाल पक्षलाई कव्जामा लिएर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव समुहले जसरी भएपनि प्रधानमन्त्री ओलीको हातबाट सत्ता खोस्ने प्रयत्नमा लागेका छन । यही कारण जनता समाजवादी पार्टी अनौपचारिक रुपमा विभाजित भइसके पनि औपचारिक रुपमा भने घोषणा हुन बाँकी रहेको छ । कानुनी रुपमा सो पार्टी एक भएपनि व्यवहारिक रुपमा भने विभाजित भइसकेको छ ।
जसपाको राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो समुह प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा सरकारमा सहभागि भइसकेको छ । सो समुहका उपप्रधानसहित ११ जना नेता मन्त्री बनिसकेका छन । जसपा अब एकै ठाउँमा रहन सक्ने अवस्था प्रायः न्यून भइसकेको छ । यसैगरी सो दलको आन्तरिक विवाद पनि निर्वाचन आयोगमा पुगिसकेको छ । जसरी नेकपा एमालेको विवाद निर्वाचन आयोगमा पुगेको छ, ठीक त्यसैगरी जसपाको विवाद पनि निर्वाचन आयोगमा नै पुगेको छ । दुवै पार्टीको विवादको छिनोफानो अब निर्वाचन आयोगले लगाउने भएको छ ।
बर्तमान सरकारले पहिलो पटक २०७७ पुस ५ गते प्रतिनिधिसभाको विघटन गरेको थियो । प्रतिनिधिसभा विघटन हुनुको तत्कालिन कारण नेपाल कम्युनिष्ट पार्टी भित्रको आन्तरिक द्वन्द्व नै मुख्य कारण रहेको बताइए पनि बाह्य कारणहरु पनि रहेको घटनाक्रमहरुले पुष्टि गर्दै गएको छ । प्रतिनिधिसभाको विघटन गर्नुको कारण खोज्दै सर्बोच्च मुद्दा परेको र अदालतको संवैधानिक इजलासले विघटनलाई असंवैधानिक ठहर गर्दै गएको २०७७ फागुन ११ गते बदर गरिदिएपछि मुलुकमा अर्को राजनीतिक संकट थपिन पुगेको छ । त्यसैगरी २०७७ फागुन २३ गते सर्बोच्चले नै तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र मिलेर २०७५ साल जेठ ३ गते गरेको पार्टी एकीकरणलाई बदर गर्दै दुवै दललाई अस्तिवमा ल्याइदिएको थियो । नेकपा एमाले र माओवादी केन्द्र दुवै अस्तित्वमा आएपछि नेकपा एमालेका वरिष्ठ नेताद्धय माधव नेपाल र झलनाथ खनालले आजका दिनसम्म पनि पार्टीको नेतृत्वप्रति प्रतिसोध साध्दै समानान्तर कमिटीहरु बनाइरहेका छन । त्यतिमात्र होइन आफनै दलका प्रधानमन्त्री ओलीलाई हटाउनका लागि प्रमुख प्रतिपक्षलगायत अन्य राजनीतिक दलहरुसँग साँठगाँठ गरेर लाजमर्दो र घृणित खेल खेलिरहेको छ ।
उता नेपाली जनताले गएको निर्वाचनमा प्रमुख प्रतिपक्षी दलको भुमिकामा बस्न नेपाली कांग्रेसलाई पाँच वर्षको म्यान्डेट दिएका थिए । तर उसले आफूले पाएको म्यान्डेटको ख्याल नगरी सत्ताधारी दलका केही नेताहरु र माओवादी केन्द्रको सहयोगमा सत्तामा पुग्ने जुन खेलमा लागेको छ । उसको यो खेल मुलुकका लागि उपयुक्त भन्दा पनि दुर्भाग्य साबित हुने पक्का छ । किनभने तत्कालिन नेपाल कम्युनिष्ट पार्टीमा रहँदा पुष्पकमल दाहाल र माधव नेपाल पक्ष मिलेर प्रधानमन्त्री केपी ओलीलाई जसरी भएपनि सत्ताबाट हटाउने प्रयत्न गरेका थिए भोलीका दिनमा उनीहरुले त्यो हर्कत फेरी नदोहो¥याउन भन्न सकिने अवस्था छैन ।
भरखरै भएको राष्ट्रिय सभाको निर्वाचनमा बागमति प्रदेशमा कांग्रेस, माओवादी केन्द्र र जसपाले आफ्नो उम्मेदवार नै नउठाई माधव–खनाल समुहले उठाएका स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेर एमालेको तर्फबाट उम्मेदवार रहेका तत्कालीन गृहमन्त्री रामबहादुर थापालाई पराजित गरे । त्यसैगरी लुम्बिनी प्रदेशमा माओवादी केन्द्र, जसपा र माधव समूहले आफ्नो उम्मेदवार नै नउठाई कांग्रेसका उम्मेदवारलाई सहयोग गरेर आफनो असली अनुहार देखाइसकेका छन ।
यसैगरी सत्तारुढ दल भित्र रडाको जारी रहेको खण्डमा त्यसको फाइदा कस्लाई पुग्छ भन्ने बिषयमा पनि राजनीतिक बिश्लेषकहरु अनबिज्ञ छन । आफनै दलका नेताहरुलाई प्रधानमन्त्री ओलीले बिश्वासमा लिन नसक्दा सत्ता जोगाउनका लागि महन्थ र महतोहरुलाई ११ वटा मन्त्रालय दिएर सरकार टिकाउनु परेको छ । यदी आफनै दलका नेताहरुलाई बिश्वासमा लिन सकेको भए प्रधानमन्त्री ओली यो तहमा पुग्नुपर्ने थिएन ।