यादव पक्ष आधिकारिकता दावी गर्न सशरीर वहुमत आयोग जाने
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्ष आधिकारिकता दावी गर्दै पुनः निर्वाचन आयोग जाने भएको छ।
जसपाका दुई अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरले एकले अर्कालाई कारबाही गर्दै पार्टीबाट निष्काशन गरेको पत्र निर्वाचन आयोगलाई पठाएका थिए। तर आयोगले दुवै पक्षको कारवाहीलाई अस्वीकार गरेको थियो ।
आज बसेको कार्यकारिणी समिति बैठकले बहुमत सदस्यसहित सशरिर निर्वाचन आयोगमा उपस्थित हुने निर्णय गरेको एक नेताले बताएका छन् ।
जसपाले लुम्बिनी प्रदेशका जसपाका ४ सांसदलाई पार्टीको अनुशासन विपरित भएको भन्दै कारबाही गर्ने निर्णय गरेको छ।
त्यस्तै ढुंगा गिटी निकासी गर्ने निर्णयलाई फिर्ता लिनसमेत सरकारसँग माग गरेको छ । यस्तै जसपाले पार्टीको तर्फबाट चुरे संरक्षण समिति बनाउने निर्णय पनि गरेको छ ।
उता महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले भने आजको वैठकलाई अवैधानिक भएको छ । आफू प्रथम अध्यक्ष भएको र आफूले कुनै वैठक आव्हान नगरेको बताउँदै ठाकुरले आजको वैठकले गर्ने कुनै पनि निर्णय मान्य नहुने हिजै विज्ञप्ति प्रकाशित गर्दै जानकारी गराएका थिए ।